सूचनाको शक्ति - The Power Of Information

        

बोरा बोकेर सस्तो लोकप्रियता खोज्नेलाई अभिनेत्री श्वेता खड्काको झापड !

काठमाडौं । विभिन्न संघ संस्था र व्यक्तिले सामाजिक कार्य गर्नेभन्दै मिडियाबाजी गरिरहेका बेला अभिनेत्री श्वेता खड्काले सुटुक्क थुप्रै घरहरू बनाएर गरिव जनताको मन जितेकी छिन् । सामाजिक सञ्जालमा बोरा बोकेका, राहत बाँडेका, इट्टा बोकेका तस्वीर राखेर सहानुभूति र सस्तो लोकप्रियता खोज्नेहरूलाई अभिनेत्री खड्काको कामले सिधै झापड दिएको छ ।

खड्का सबैको प्रेरणाकी स्रोत बनेकी छिन् । सामाजिक काम गर्न लागेको भन्दै केही व्यक्ति र फाउण्डेशनले सामाजिक सञ्जाल, अनलाइन, पत्रपत्रिका, टेलिभिजनमा समाचार प्रकाशित गरेर सस्तो लोकप्रियतामा रमाउन चाहेको आरोप लाग्ने गरेको छ । तर, अभिनेत्री खड्काले गुपचुप रुपमा एउटा बस्ती नै निर्माण गरेर हस्तान्तरणको अन्तिम तयारीमा छिन् ।

श्वेताश्री फाउण्डेशनमार्फत अभिनेत्री खड्काले भूकम्पपछि तहसनहस बनेको सिन्धुपाल्चोकको माझी बस्तीका ५३ घर बनाएकी हुन् । माझीबस्ती निर्माण गर्नका लागि अभिनेत्री खड्काले सार्वजनिक रुपमा चन्दा मागिनन् । कसैले आफ्नै स्वइच्छाले दिएको सहयोगलाई इन्कारी पनि गरिनन् । माझीबस्ती बनाउने क्रममा पैसा अभाव भएपछि अभिनेत्री खड्काले आफ्नै घर सहकारी संस्थामा धितो राखेकी छिन् ।

खड्काले ठूलै समस्या झेल्दै उदेश्यमा पुग्न सफल भएकी छिन् । खड्काले चौतारा साँगा चोकगढी नगरपालिका–१४ भीमटार माझी बस्तीका लागि आवास निर्माण गरेकी हुन् । ४६५ वर्ग फिटमा निर्माण भएका घरको लागत प्रतिघर करीव ७ लाख रुपियाँ खर्च भएको छ । विभिन्न अगुवाईहरूको हातेमालो र सहयोगका कारण माझीबस्ती चिटिक्क बन्न पुगेको हो । आफ्नो उदेश्य पूरा भएपछि अभिनेत्री खड्काले घर निर्माणमा सहयोग गर्ने सबैलाई धन्यावाद दिएकी छिन् ।

माझीबस्ती निर्माणको घोषणा गर्दा कतिले उनको उपहास गरेका थिए । आफ्नो अभियानबाट उनी पछाडि हटिनन् । ‘त्यसबेला कतिपयले माझीबस्तीका घर निर्माणको घोषणा गर्दा उपहास गर्नुभएको थियो,’ उनले विगतलाई स्मरण गर्दै भनिन्, ‘आलोचना नभएको भए सायद म यो उदेश्यसम्म पुग्ने थिएन । आलोचनालाई शक्तिमा बदल्न सकेँ । खुसी छु ।’

उनले माझीबस्ती निर्माणमा सहयोग गर्ने सहयोगीहरूका साथै र माझीबस्तीका युवाहरूका कारण घरहरू निर्माण भएको बताइन् । माझीबस्तीका ५३ घरहरू निर्माण पूरा गरेपछि अभिनेत्री खड्काले फेसबुकमा लेखेकी छिन्, ‘सानो घर, हाम्रो रहरको सपना साँचेका मेरा प्रिय माझीबस्तीका दाजुभाई तथा दिदीबहिनीहरूसंग हात्तेमालो गर्दै यहाँसम्म आइपुगियो । धेरै कस्ट सहियो, धेरै हण्डर खाइयो । कतिले गाली गरे । अनि कत्तिले आँखा तरे ।’

‘केहीले आश देखाए भने कोहीले उपहास गरे । तर सहयोगीहरूको साथ र माझीबस्तीका युवाहरूको हातका कारण हामी, हाम्रो सपनालाई बिपनामा परिणत गर्ने तरखरमा छौँ । अझै केही काम बाँकी छन् । म एक्लैले, अपुरो कामलाई पूरा गर्न सम्भव छैन । आउनुस अझै मौका छ । नमूना माझी बस्तीमा आ–आफ्नो योगदान गरौँ ।’ अभिनेत्री खड्काले माझीबस्तीलाई पूर्णरुपमा तयार गरी हस्तान्तरण गर्ने अभियानमा छिन् । तर, ती घरहरूमा केही काम बाँकी रहेको भन्दै खड्काले काम गरिरहेको बताइकी छिन् ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार १३:२०