सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषध खान सरकारी कर्मचारी भारततिर !

कुमार श्रेष्ठ । बाँके । बाँकेको सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु लागुऔषध कोरेक्स खान सीमावर्ती भारतीय शहर रुपैडिहा जाने गरेको पाइएको छ । गाउँपालिकाका इन्जिनियर, अदालतका कर्मचारीहरु लागुऔषध कोरेक्स खान रुपैडिहा जाने गरेको पाइएको हो ।

एकजना वन अधिकृत पनि नियमित कोरेक्स खान जाने गर्दछन् । केही दिनयता उनी नाकातिर देखिएका छैनन् । आइतबार एउटा मोटरसाइकलमा दुई जना सरकारी कर्मचारी कोरेक्स खाएर आउदा नाकामा समातिएका छन् । जमुनाहा नाकामा प्रहरीको आँखा छलेर भागेका सरकारी कर्मचारीलाई प्रहरीले पिछा गरेर समातेको थियो ।

प्रहरीले नियन्त्रणमा लिएर केरकार गर्नुका साथै जिब्रो हेरेपछि लागुऔषध खाएर आएको पत्ता लागेको हो । उनीहरुले लागुऔषध खाएर स्वीकार गरेका छन् । लागुऔषध खाएका व्यक्तिको आँखा रसिलो, जिब्रो सुख्खा हुनुका साथै रातो हुने चेकिङमा रहने प्रहरीहरु बताउँछन् ।

‘पहिला त भागे । केही त गडबड छ भनेर पिछा गरेर नियन्त्रणमा लियौ । हाउभाउ, बोली र जिब्रो हेर्दा लागु औषधी खाएर आएको पाइयो, चेकिङमा रहेका एक प्रहरी भन्छन्, ‘खाएर आएकालाई कारबाही गर्ने नीति नै छैन । एकछिन रोकेर पछि छाडिदियौं ।’

दुई दिनअघि एकजना इन्जिनियर लागुऔषध खाएर आउदा केरकारमा परेका थिए । जिल्लाकै एक गाउँपालिकाका इन्जिनियर उनी नियमितजसो नै कोरेक्स खान रुपैडिहा जाने गर्दछन् । अदालतका कर्मचारीको नेपालगन्जदेखि रुपैडिहा दौडाहा सधैं नै हुने गर्दछ ।

लागुऔषध अनुसन्धान ब्यूरोले नाकामा चौविसै घण्टा टोली परिचालन गर्ने गर्दछ । पछिल्ला दिनमा लागुऔषध बोकेर आउने भन्दा पनि रुपैडिहामा गएर खाएर आउने बढेको उनीहरु बताउँछन् । लागुऔषध खाएर आएकालाई जाँच गर्ने साधन छैन । लागुऔषध बरामद हुँदामात्रै प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने गरेको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले सरकारी कर्मचारी नै लागुऔषध खाएर आउने गरेको बारेमा आफू अनभिज्ञ रहेको बताए । सीमावर्ती बजार रुपैडिहामा गएर लागु औषधी खाएर आउनेलाई थुन्ने हो भने बाँकेमा राख्ने ठाउँ नै नपुग्ने अवस्था रहेको छ ।

सामान बरामद हुँदा समातिएका व्यक्ति नै प्रहरीको हिरासतमा पाँच दर्जन बढी छन् । बाँके कारागारमा सबैभन्दा बढी थुनुवा लागु औषधीकै छन् । प्रहरीको कारबाहीबाट बच्न लागु औषधीप्रेमी यतिबेला रुपैडिहा नै हानिने गरेका छन् । नजिकै रहेकाले रुपैडिहामै गएर आउने धेरै छन् । नाकमा सधैं डिउटीमा रहने एक प्रहरी जवान भन्छन्, ‘एउटै व्यक्तिले दिनमा दुई–तीन ट्रिपसम्म लगाउँछन् ।’

नाकामा खटिने प्रहरीले लागु औषधी प्रयोगकर्तालाई चिन्ने गरेका छन् । उनीहरुलाई रुपैडिहा जादादेखि नै निगरानी गरेर बस्छन् । तर, ऊ पनि लाटो कहाँ छ र ? लागुऔषध खाएर आउँछ । बोकेर आउँदैन । सरकारी कर्मचारीको समेत लागुऔषध खान रुपैडिहातिर लर्को लाग्न थालेपछि खानेलाई पनि कारबाही गर्ने कि भन्ने दबाब बढेको छ ।

५० ग्राम ब्राउनसुगरसहित परियार पक्राउ

बाँके खजुराका रामबहादुर परियार रुपैडिहामा ५० ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । रुपैडिहाबाट ब्राउनसुगर किनेर नेपालगन्जतिर आउदै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले परियारलाई नियन्त्रणमा लिएको हो । खजुराका यी परियार पनि नियमित रुपैडिहा जानेमध्येमा पर्छन् ।

सधैं रुपैडिहा जाने र आउने परियारलाई नाकामा रहेको नेपाल प्रहरीले निगरानी गर्दथ्यो । रुपैडिहाबाट आउदा उसलाई प्रहरीले कपडासमेत खोलेर जाँच गर्दथ्यो । रुपैडिहामा लागुऔषध खाना गइरहने परियारले यसपाली भने ५० ग्राम ब्राउनसुगर बोकेर फर्किदा भारतमै पक्राउ परेका हुन् । उनलाई विक्रेताले नै सुराकी लगाइदिएको आशंका गरिएको छ ।

 

#देश सञ्चार

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार ०८:५१