सूचनाको शक्ति - The Power Of Information

        

भन्सारका नायव सुब्बा चन्दविरूद्ध भ्रष्टाचार मुद्दा दायर, ५२ हजार बिगो कायम

बाँके । अख्तियार दुरूपयोग अनुसन्धान आयोगे नेपालगन्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मणबहादुर चन्दबिरूद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भन्सारबाट आयात हुने चामललगायत अन्य सामानहरुको प्रज्ञापनपत्र बनाइदिने तथा भन्सार जाँच पासमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग गरेको आरोपमा चन्दमाथि भ्रष्टाचार मुद्धा दायर गरिएको हो ।

गोप्य सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले नायव सुब्बा चन्दलाई ५२ हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अख्तियारको नियन्त्रणमा रहेका चन्दमाथि अनुसन्धान हुँदा उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० को कसुर गरेको सप्रमाण पुष्टि भएकोले बिेशष अदालतमा कारवाहीका लागि मुद्धा दायर भएको अख्तियारले जनाएको छ ।

अख्तियारका सूचना अधिकारी मदन कोइरालाकाअनुसार उनलाई बिगो ५२ हजार नै कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० र दफा ३ को उपदफा १० को देहाय (ग) बमोजिम सजाय हुन माग दाबी लिई आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार ०७:१४