सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा आठौंको तयारी, खेलस्थल सरसफाई गर्दै स्थानीय

बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल बाँकेको खजुरा गाउँपालिकाको विभिन्न ठाउँमा हुने भएपछि तयारी तीव्र पारिएको छ । ज्ञानोदय नमूना माविमा बक्सिङ महिला पुरुष, शुक्र भलिबल स्टेडियममा भलिबल, शुक्र मावि सीतापुरमा हक्की महिला र डि गाउँ फुटबल मैदानमा फुटबलका केही खेल हुने भएकाले ती खेलका लागि तयारी तीब्र पारिएको हो ।

आयोजक राष्ट्रिय खेलकुद परिषदको समन्वयमा खजुरा गाउँपालिका, बिद्यालय ब्यवस्थापन समिति, स्थानीयको सहकार्यमा खेल स्थलको तयारी, रंगरोगन, सरसफाई गरिएको छ । खजुरा गाउँपालिकाका जनप्रतिनिधिले बक्सिङ हुने ज्ञानोदय माबि, फुटबल हुने डि गाउँ स्कूल, हक्की हुने शुक्र मावि र भलिबल हुने शुक्र भलिबल स्टेडियममा सरसफाई गर्नुका साथै अन्य तयारी अघि बढाइएको खजुरा गाउँपालिका कार्यपालिका सदस्य भागिरथ सुनारले जानकारी दिए ।

खजुरा गाउँपालिकामा आठौंका चार खेल सञ्चालन हुने भएपछि त्यसको स्वागत गर्दै आएका खजुराबासीले आयोजकसँगको समन्वयमा तयारीमा सहयोग गरिरहेको खजुरा गाउँपालिका अध्यक्ष किष्मतकुमार कक्षपतिले बताए । उनले आठौंका चार खेल हुने खजुरामा कुनै पनि किसिमको असहज र अप्ठ्यारो हुन नदिई ब्यवस्थापनलाई चुस्त पार्न खजुरावासीमा आग्रह गरे । खेललाई शान्त, सभ्य, भव्यरुपमा सम्पन्न गर्न गाउँपालिका अध्यक्ष कक्षपतिको संयोजकत्वमा १५१ सदस्यीय समन्वय तथा सहयोग समिति निर्माण गरिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतवार १५:३०