सूचनाको शक्ति - The Power Of Information

        

‘आठौं खेलकुदका पाहुनालाई हलुवा पराठाले स्वागत !’

बाँके । नेपालगन्ज उपमहानगरपालिका–१३ चौलिका चोकमा मानिसहरू जुट्नुको उद्देश्य फरक छ । जहाँ मानिसहरू भेटघाटका लागि मात्रै जुट्दैनन् । चौलिकामा जुट्नुको मुख्य उद्देश्य हुन्छ हलुवा पराठा (परौठा रोटी) खाई भोक मेटाउने । भोक मेटाउनकै लागि जम्मा भएका मानिसहरुको भीडमा हराउँछ चौलिका चोक ।

हलुवा पराठा विक्री गर्दै आएका सञ्चालकद्वय मोहर अलि र जमील अहमद शेषलाई नेपालगन्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनकले छोइसकेको छ । पसलमा पुग्ने ग्राहकसँग खेलकुदका बारेमा सोधीखोजी गरिरहने उनीहरुले राष्ट्रिय खेलकुद भाग लिन नेपालगन्ज आउने पाहुनालाई हलुवा पराठाले स्वागत गर्ने योजना बुनिरहेका छन् ।

नेपालगन्जमा केही यस्ता खानेकुरा छन् जुन नखाई नेपालगन्जको यात्रा पूरा हुँदैन । पान, पानीपुरी, राबडी, चाट, बिरयानी, लस्सी र मलाई चाय नेपालगन्जका पर्यायी परिकार हुन् । जसमध्ये नेपालगन्जको हलुवा पराठा पनि एक हो । चौलिका चोकमा मोहर अली र जमील अहमद शेषले एउटै परिकार विगत ३३ बर्षदेखि विक्री गर्दै आएका छन् ।

सञ्चालक मोहर अलिले भने, ‘खेलकुद यही हुँदैछ, हामी निकै खुशी छौं, यहाँ आउने पाहुनालाई हलुवा पराठाले स्वागत गर्ने हो ।’ बिहान महेन्द्र बहुुमुखी क्याम्पस पढ्ने विद्यार्थी हुन् या रुपईडिहा आवतजावत गर्ने बटुवा हुन् उनको हलुवा पराठा नचाखेका कमै होलान् । ठूलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने उनले अहिलेसम्म नमिठो भयो भन्ने सुन्नपरेको छैन ।

बरु मिठो भयो भनेर थपेर र पोको पारेर घर लैजानेहरु धेरै भएको उनले सुनाए । नेपालगन्जमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन आउने पाहुना, खेलाडी, प्रशिक्षक र दर्शकको स्वागत गर्न आत्तुर रहेको बताउँदै अर्का सञ्चालक जमील अहमद शेषले भने, ‘राष्ट्रिय प्रतियोगिता हाम्रो ठाउँमा हुँदैछ । हामी निकै खुशी छौं, बाहिरबाट आएका पाहुनालाई हामी हलुवा पराठाले स्वागत गर्छौ ।’

अन्य स्थानको भन्दा चौलिका चोकको हलुवा पराठा नै अधिकांशको जिव्रोले मन पराउने गरेको छ । यहाँको पराठा पसलमा खानेको झुण्ड लाग्ने गरेको छ । खाजाका लागि रिक्सा चालक, टाँगा चालकमात्र होइन मोटरसाइकल र कार चढ्ने पनि आउँछन् । विभिन्न जिल्लाबाट नेपालगन्ज पुग्नेहरु समेत उनको खाजा पसलमा पराठा र हलुवाको स्वाद लिन पुग्ने गर्दछन् । चोकको पश्चिमतर्फ रहेको खरको छानोमुनि पाकिरहेको हुन्छ नाङ्गलो जत्तिकै ठूलो देखिने पराठा ।

जुन पराठा रोटी खानुको स्वाद त छँदैछ, बनाएको हेर्न झनै मज्जा आउँछ । नाङ्गलोभन्दा ठूलो तावामा पकाउनु अघि पराठा पकाउने कारिगढले पिठोलाई केही पराठाको आकारमा बनाएपछि त्यो आकारबाट बढाएर सुपो जत्तिकै ठूलो आकारमा पुर्याउँछन् । जुन पराठाको आकारले आधा शरीर छोपिन्छ । छेउतिरबाट हेर्दा पकाउनु अघिको काँचो पराठा पछ्यौरा ओढेजस्तै देखिन्छ । एउटै पराठाबाट कम्तीमा १० जनासम्मलाई पुग्ने उनको भनाइ छ ।

पिठोमा नून र घिउ राखी बनाइएको उक्त पराठा चक्कुले काटेर हलुवा बीचमा राखेर खाने गरिन्छ । दिनमा करिब ४० वटासम्मको पराठा बिक्री हुने अर्का सञ्चालक जमील बताउँछन् । हलुवा पराठा खाँदै गर्दा भेटिएका नेपालगन्ज नगरपालिका–२१ का निजाम बेहनाले भोक लाग्दा यहाँ आउने गरेको बताए । २५ रुपैयाँमा १०० ग्राम हलुवा पराठा पाइने हलुवा पराठाको माग नेपालगन्जका अन्य स्थानमा पनि बढ्दै गएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार १५:४१