
बाँके । नेपालगन्ज उपमहानगरपालिकाले मुख्य सडकको सफाई गर्ने जिम्मा निजी संस्थालाई दिएको छ । उपमहानगरपालिकाले जमुनाहादेखि मनिकापुरसम्मको सुर्खेतरोड र धम्बोझीदेखि नन्दनी मिलसम्मको खजुरारोडको सफाई गर्ने जिम्मा निजी संस्थालाई दिएको हो । यी ठाउँमा पाँच वटा निजी संस्थाले सफाई गरिरहेका छन् ।
निजी संस्थामार्फत सफाई गर्दा ‘राम्रो’ भएको निष्कर्ष निकाल्दै उपमहानगरपालिकाले यी ठाउँमा थप तीन महिना निजी संस्थालाई काम दिने तयारी गरेको छ । एउटै संस्थालाई लगातार काम दिंदा नकारात्मक सन्देश जान सक्ने भन्दै उपमहानगरपालिकाले प्रतिस्पर्धा गराएर निजी संस्थालाई सफाईको जिम्मा दिन थालेको छ । जमुनाहादेखि मनिकापुरसम्मको सुर्खेतरोडमा पाँच वटा क्लष्टर बनाइएको छ ।
धम्बोझीदेखि नन्दनी मिलसम्म एउटा क्लष्टर बनाइएको छ । पाँच वटा संस्थाले यी ठाउँमा सफाई गरिरहेका छन् । थप तीन महिना निजी संस्थामार्फत नै सडक सफाई गराउने योजना अघि सारेको उपमहानगरपालिकाका सरसफाई शाखाका अधिकृत अशोक केसीले बताए । धम्बोझीदेखि नन्दनी मिलसम्म स्वच्छ नेपाल, हाम्रो अभियान नामक संस्थाले काम गरिरहेको छ । विहानै सडक बढार्ने र उज्यालो हुँदा घरघरमा पुगेर फोहोर संकलन गर्ने गर्दछ ।
६ महिनादेखि यो संस्थाले त्यहाँ काम गरेको अध्यक्ष भानु भट्टले बताए । स्वच्छ नेपाल, हाम्रो अभियानले दैनिक सडक सफाई र घरघरमा पुगेर सिटी बजाउन थालेपछि त्यहाँका मानिसले जथाभावी फोहोर फाल्न छोडेका छन् । शुरुको तीन महिनामा न्यूनतम शुल्क दिन ३३ प्रतिशतमात्रै तयार भएका थिए । अर्को तीन महिना हुँदा यस्तै सफाई हुन्छ भने पैसा तिर्न तयार छौं भन्ने ६० प्रतिशत पुगेको अध्यक्ष भट्टले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नै स्रोत र साधन लगाएर मुख्य सडकबाहेकको फोहोर उठाउने गर्दछ । हिरमिनियामा बनिरहेको ल्याण्डफिल साइट बैशाखको दोस्रो सातासम्ममा तयार भएपछि त्यही कम्पनीले एक वर्षसम्म सरसफाईको जिम्मा पनि लिने सहमति रहेको छ । तर, उसले सडक सफाई नगर्ने बुझिएको छ । उपमहानगरपालिकाले सधैंका लागि मुख्य सडकको सरसफाईको जिम्मा निजी संस्थालाई दिने तयारी गरेको छ ।
सत्यपाटी - ।