सूचनाको शक्ति - The Power Of Information

        

शहरी विकास मन्त्री ईस्तियाक राईले भने, ‘सञ्चारकर्मी कमजोर बन्नुहुँदैन’

बाँके । शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले पत्रकारिता क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताएका छन् । मुलुकको विकासका लागि सञ्चार क्षेत्रको पहलकदमी आवश्यक रहेको उल्लेख गर्दै सञ्चारकर्मी र सञ्चार संस्थाले आफूलाई पनि बलियो बनाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको तीन कोठे व्यवसायीक भवनको आज नेपालगन्जमा शिलान्यास गर्दै मन्त्री राईले भने, ‘समाज परिवर्तनका लागि खबरदारी गर्ने सञ्चारकर्मी र सञ्चार संस्थाहरु कमजोर भए मुलुकले विकासको गति लिन सक्दैन । पहिले तपाईहरु बलियो बन्नुस्, जसका कारण सरकारका कामकारबाहीहरु गलत बाटोमा जान रोकिने छन् ।’

उनले सरकारका तर्फबाट आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सञ्चारकर्मीहरुलाई निश्पक्ष र स्वतन्त्रपूर्वक कलम चलाउन आग्रह गरे । मन्त्री राईले संसद विकास कार्यक्रम अन्तरगतको रु.५ लाख रकम पत्रकार महासंघको भवन निर्माणका लागि विनियोजन गरेपछि महासंघले आफ्नो जग्गामा भवन बनाउन लागेको हो ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले व्यवसायीक भवन निर्माण भएपछि आर्थिकरुपमा पनि संस्था थप बलियो हुने बताए । उनले भने, ‘व्यवसायीक भवन निर्माण गरी भाडामा सञ्चालन गर्ने र त्यसबाट आएको रकमलाई पत्रकारिता क्षेत्रको वृत्ति विकासमा खर्च गर्छौ ।’

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार १७:१२