सूचनाको शक्ति - The Power Of Information

        

देशभर एक हजार ११८ किलोमिटर सडक ग्राभेल

काठमाडौं । चालू आवको हालसम्मको अवधिमा देशभर एक हजार ११८ किलोमिटर सडक ग्राभेल भएको छ । गत फागुनसम्ममा देशभरका विभिन्न सडक स्तरोन्नतिका क्रममा सडक ग्राभेल भएको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले जनाएको छ । विभिन्न राजमार्गमा ग्राभेलको काम तीव्रगतिमा भइरहेको प्रवक्ता शिवहरि सापकोटाले बताए ।

उनका अनुसार मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग लगायतका सडकमा प्रगति भएको छ । मध्यपाहाडी लोकमार्ग अन्तरगतमा ९० किलोमिटर ग्राभेल भएको छ । गत फागुनसम्म हुलाकी राजमार्गमा ६७ किलोमिटर सडक ग्राभेल भएको छ । मदन भण्डारी राजमार्गमा धरानबाट चतरा हुँदै हेटौँडा सडकमा १०० किलोमिटर ग्राभेल भएको उनले बताए ।

उनले भने, ‘यी सडकमा आगामी आवसम्ममा कालोपत्र गरिसक्ने योजना छ ।’ सरकारले विशेष महत्व दिएका राजमार्गमा कालोपत्रसँगै ग्राभेलको कामले गति लिइरहेको मन्त्रालयले जनाएको छ । चालू आवमा नै ७४७ किलोमिटर कालोपत्र सम्पन्न भएको प्रवक्ता सापकोटाले बताए । यस वर्ष नै ७२१ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको उनले बताए ।

उनका अनुसार चालू आवमा कतिपय सडकमा विनियोजित बजेट खर्च भएर अर्थ मन्त्रालयबाट थप रकम माग गरिएको छ । उनले भने, ‘कतिपय सडकमा दु्रत गतिमा निर्माण कार्य भइरहेकाले विनियोजित बजेट खर्च भइसकेर अर्थ मन्त्रालयबाट थप रकम माग भएको छ ।’

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार १०:४४