सूचनाको शक्ति - The Power Of Information

        

शहरी विकास मन्त्री मो.इस्तियाक राईले भने, ‘निर्माणमा ढिलासुस्ती नहोस्’

भेरी अस्पतालको इन्डोर ब्लक शिलन्यास

बाँके । नेपालगन्जमा रहेको भेरी अञ्चल अस्पतालको स्तरोन्नतिसँगै पूर्वाधार निर्माणका कामले गति लिन थालेका छन् । अस्पताल हाताभित्र इन्डोर ब्लकको निर्माण कार्य सुरु भएको छ भने चार परिवार नर्सिङ्ग आवास निर्माणको काम सकिएको छ ।

रु.३२ करोड ३१ लाख ३ हजार ७९३ लागतमा निर्माण हुने इन्डोर ब्लक तथा रु.६९ लाख ३१ हजार ६५५ लागतमा निर्माण सकिएको नर्सिङ्ग आवास भवनको आज शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले शिलन्यास तथा उद्घाटन गरेका छन् ।

उद्घाटनमा बोल्दै मन्त्री राईले इन्डोर ब्लक निर्माण सुरु भइसकेकोले अस्पतालमा आउने विरामीहरुले पूर्वाधार अभावमा सेवाबाट प्रभावित हुन नपर्ने बताएका छन् । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले अस्पतालको पूर्वाधार विकासमा प्राथमिकतामा राखेपछि शहरी विकास मन्त्रालयले कार्यान्वयनलाई तीव्रता दिनेछ ।’

मुलुक समृद्धिको बाटोमा अघि बढिसकेकाले पूर्वाधार विकासले गति लिइसकेको मन्त्री राईले बताउनुभयो । उहाँले देशको समृद्धि चाहेर पनि कसैले रोक्न नसक्ने दावी गर्दै भने, ‘स्थायी सरकारले स्थायी काम गर्छ, यसले मुलुकको समृद्धिसँगै नागरिकहरुलाई समृद्धिको बाटोमा लैजाने सम्भावनाका अवसरहरु आइरहेका छन् ।’

धेरै पटकको प्रयासपछि भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गर्न सफल भएको भन्दै मन्त्री राईले भने, ‘म निकै उत्साहित भएको छु, मेरो कार्यकालमा यस क्षेत्रका नागरिकका लागि यो एउटा सानो उपहार मात्रै हो । यस क्षेत्रको विकासका लागि मसँग अझै चुनौतिहरु छन् । ति चुनौतिहरुको सामना गर्दै अघि बढिरहेको छु, यसलाई मैले सुनौलो अवसरका रुपमा लिएको छु ।’

इन्डोर ब्लक निर्माणमा अर्थ मन्त्रालयले सहमति जनाएपछि उत्साहित भएको स्मरण गर्दै मन्त्री राईले भने, ‘अस्पतालको स्तरवृद्धिसँगै पूर्वाधार निर्माणका लागि मैले निरन्तर प्रयत्न गरे । अस्पताल आम नागरिकका लागि हो, यसको सुधारका निम्ति तपाईहरुको पनि साथ रहोस् ।’

मन्त्री राईले भेरी अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गरिने बताए । अस्पतालको पूर्वाधार विकासमा संघीय सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै उनले भने, ‘पूर्वाधार निर्माणमा ढिलासुस्ती नहोस् । समयमै काम सक्न निर्माण कम्पनीले ध्यान दिनुपर्छ । बिशेषज्ञ सेवा प्रदान गर्न संघीय सरकार प्रतिबद्ध छ ।’

स्वास्थ्य मन्त्रालयले गत असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमति माग गरेको थियो । सोही बमोजिम कार्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयबाट इन्डोर ब्लक निर्माण कार्य अघि बढाउन अर्थ मन्त्रालयले सहमति प्रदान गरेको थियो ।

अस्पतालमा स्वास्थ्यकर्मीहरुका लागि आवासीय भवन र विरामीहरुका लागि इन्डोर भवन बनाउन १२ बर्ष अघिदेखि पहल भइरहेको भए पनि सार्थक हुन सकेको थिएन । हाल १५० शैय्या रहेको अस्पतालमा विरामीको चाप अनुसार इन्डोर ब्लकको आवश्यकता देखिएपछि निर्माण सुरु भएको भन्दै अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा.राजन पाण्डेले खुसी व्यक्त गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार १६:४३