सूचनाको शक्ति - The Power Of Information

        

वडाध्यक्षद्वारा सरकारी सम्पत्ति दुरुपयोग, लाइसेन्स नभएका छोरालाई सरकारी मोटरसाइकल !

बाँके । जनताका कामकाजलाई छिटोछरितो बनाउन सरकारी लाभको पदमा रहेका व्यक्तिलाई विभिन्न सेवासुविधा दिएको हुन्छ । तलब, भत्ता, पोशाक, सवारी साधन लगायतका विभिन्न सेवाहरु सरकारले उपलब्ध गराएको हुन्छ । सरकारले दिएको यस्ता सेवा तथा सुविधालाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्न मिल्दैन ।

त्यसो त सरकारले यसअघि नै सरकारी सवारी साधनको दुरुपयोग हुन नदिन कडाई गरेको छ । सार्वजनिक विदाकै दिनमा सरकारी सम्पत्तिको दूरुपयोग भएको पाइएपछि सरकारले कडाई गरेको हो । अन्य दिनबाहेक सार्वजनिक विदाका दिन सरकारी सवारी साधन चलाउनु परेमा सम्बन्धित कार्यालयले प्रमुख जिल्ला अधिकारीको अनिवार्य अनुमति लिएर चलाउनु पर्ने हुन्छ । त्यसो नगरेको पाइएमा कानुनी कारबाही हुने प्रावधान छ ।

तर, सार्वजनिक सवारी साधनको दुरुपयोग हुने गरेको घटना हामीमाझ नौलो भएन । यद्यपी नेपालगन्जमा एउटा त्यस्तो घटना बाहिर आएको छ, जसले सवैको ध्यान तानेको छ । बाँकेका एक जनप्रतिनिधिले आफ्नो पद र पहुँचको दुरुपयोग गर्दै सरकारी सवारी साधनको चरम दुरुपयोग गरेका छन् । सवारी चालक अनुमति पत्र नै नभएका ती वडाध्यक्षका छोराले सरकारी सवारी साधन आफ्नो निजी काममा प्रयोग गरिरहेका छन् ।

घटना हो, बाँकेको जानकी गाउँपालिका वडा नं.–३ का वडाध्यक्ष बिन्देश्वरी बर्माले प्रयोग गर्ने भे १ ब १०९४ नं. प्लेटको सरकारी मोटरसाइकल उनका छोराले चरम दुरुपयोग गरिरहेका छन् । सरकारी प्रयोजनको लागि प्रयोग हुने गाउँपालिकाको मोटरसाइकल खुलेयाम दुरुपयोग भइरहेको छ । वडाध्यक्ष बिन्देश्वरी बर्माका छोराले सो मोटरसाइकल निजी सवारी साधनसरह प्रयोगमा ल्याइरहेका छन् ।

सरकारी नम्बर प्लेटको मोटरसाइकल चलाउने वडाध्यक्ष विन्देश्वरी बर्माका छोराको सवारी चालक अनुमती पत्रसमेत नभएको खुलेको छ । नेपालगन्जस्थित होलिल्याण्ड माविमा अध्ययनरत एक छात्राले नाम नछाप्ने शर्तमा भने उनीसँग लाइसेन्स नभएको बताए । मोटरसाइकल चलाउन सवारी चालक अनुमति पत्र हुन आवश्यक छ ।

बुवा वडाध्यक्ष, प्रहरी र ट्राफिकको चेकिङ्गमा झण्झट नै नहुने भएपछि सरकारी मोटरसाइकल छोराले दुरुपयोग गरिरहेका छन् । यसरी सवारी साधन अनुमतिबिना सरकारी मोटरसाइकल नेपालगन्जका गुडिरहँदा पनि ट्राफिक प्रहरीले चाल पाउन सकेको छैन । नेपालगन्जस्थित होलिल्याण्ड माविमा अध्ययनरत उनका छोराले लामो समयदेखि विद्यालयमा आउन जान सो मोटरसाइकल प्रयोगमा ल्याइरहेका छन् ।

कतिपय उनका साथीहरु पनि सोही मोटरसाइकलको सयर गर्दै आफ्नो घर पुगेको बताउँछन् । नेपालगन्जको होलिल्याण्ड माविमा अध्ययन गर्दै आएका वडाध्यक्षका छोराले आज आइतबार उक्त मोटरसाइकल लिई विद्यालय आएको बेला स्थानीय एक पत्रकारले फेला पारेका थिए । पत्रकारले उनको फोटो खिचेर उनीसँग सोधपुछ गरे, वडाध्यक्ष बर्माका छोराले घरी बुवाले कलेज छोड्न आउनुभएको हो, बिग्रेकोले बनाउन ल्याएको हुँ भन्दै सत्य ढाकछोप गरे ।

मोटरसाइकल चलाएर घरतर्फ जान लागेका बर्माका छोरालाई पत्रकारले पुनः प्रश्न गर्दै भने ‘४–५ दिनदेखि तपाईले यो मोटरसाइकल प्रयोग गरिरहनु भएको छ, मैले देखिरहेको छु नी भन्ने प्रश्नमा वडाध्यक्षका छोराले गल्ती भयो अबदेखि प्रयोग गर्दिन भन्दै उनी त्यहाँबाट फर्किए । यसरी बारम्बार सरकारी गाडी दुरुपयोग हुँदा पनि सम्बन्धित पक्ष मौन छ । यस विषयमा थप बुझ्न वडाध्यक्ष बिन्देश्वरी बर्माको मोबाइल नम्बर ९८४८१४६१७८ मा सम्र्पक गर्दा स्वीच भएकाले सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतवार १४:४२