सूचनाको शक्ति - The Power Of Information

        

एसइई कमाण्ड सम्हालेकी सशी स्वाँर भन्छिन्, ‘विद्यार्थीलाई सत्रु होइन, सहयात्री बनाउनुपर्छ’

बाँके । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलीदेखि सकिँदैछ । जिल्लाका ३३ केन्द्रमा शान्तिपूर्णरुपमा एसइई परीक्षा भइरहेको छ । यसवर्ष बाँकेका खुला विद्यालयबाट तीन विद्यालय, प्राविधिक धारतर्फका पाँच विद्यालय, ८० वटा निजी विद्यालय र ८५ वटा सामुदायिक विद्यालय गरी १६५ विद्यालयका ८ हजार १७५ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् ।

जिल्लाका ३३ केन्द्रमध्ये पाँच केन्द्रको केन्द्राध्यक्षमा महिला शिक्षिकाले परीक्षाको कमाण्ड सम्हालिरहेका छन् । अन्य केन्द्रको तुलनामा महिला केन्द्राध्यक्ष भएका केन्द्र शान्त देखिन्छन् । त्यसो त महिला केन्द्राध्यक्षहरुले परीक्षालाई मर्यादित बनाउन विद्यार्थीहरुलाई त्रास देखाउने नभई हौसला दिएर परीक्षा हलमा पठाउँछन् । जसका कारण विद्यार्थीको मनमा त्रास नभई उत्साह झल्किन्छ ।

नेपालगन्जस्थित एबिसी रेसिडेण्टल हाइस्कुल केन्द्रको कमाण्ड सम्हालेकी केन्द्राध्यक्ष सशी स्वाँर भन्छिन्, ‘सुरक्षाकर्मीको दलबलसहित परीक्षा केन्द्रमा पुग्ने केन्द्राध्यक्षले गर्ने व्यवहारले विद्यार्थीहरु त्रसित हुनुपर्ने वातावरण अझै पनि छ । विद्यार्थीले शान्तरुपमा लेख्ने वातावरण पाउँदैनन् । मैले मेरो केन्द्रमा विद्यार्थी मनोवैज्ञानिकरुपमा कमजोर महशुस गर्ने वातावरण हुन दिएको छैन ।’

उनले विद्यार्थीहरुमा अनुशासन कायम गर्न तडकभडक नभई नम्र र सम्मानजनक व्यवहार गर्न परीक्षा निरिक्षक तथा सुरक्षाकर्मीहरुलाई सचेत गराइरहिन् । त्यसो त उनीसँग यसअघि चार पटक केन्द्राध्यक्ष भएको अनुभव पनि छ । ‘विगतको अनुभव र भएका गल्ती कमजोरीहरुको समिक्षा गर्दै यसपटक शान्त वातावरणमा मर्यादित र नमूना परीक्षा केन्द्रका रुपमा स्थापित गर्ने लक्ष्यमा पुगे,’ स्वाँरले भनिन् ।

विद्यार्थीलाई चिट चोरकै दृष्टिकोणले हेर्न नहुने उनको बुझाई छ । उनी भन्छिन्, ‘परीक्षालाई मर्यादित बनाउन विद्यार्थीहरुसँगै सहकार्य गर्नुपर्छ । उनीहरुलाई हौसला दिनुपर्छ । जसले परीक्षा केन्द्रमा शान्त वातावरण रहोस् ।’ उनले विगतमा परीक्षा केन्द्रलाई नै किनबेच गर्न खोज्ने अभिभावक र केही विद्यालयहरुको प्रसंग उल्लेख गर्दै आफूले पनि निकै दवाव खेप्नुपरेको स्मरण गरिन् ।

उनले भनिन्, ‘विगतमा केन्द्राध्यक्ष हुँदा अभिभावकले विभिन्न प्रलोभन दिएको स्मरण गर्दै भनिन्, ‘म प्रलोभनमा परेको भए मेरो करिअर नै सकिने थियो । म असफल केन्द्राध्यक्षको सूचीमा पर्न सक्थे । मलाई असफल केन्द्राध्यक्ष बनाउन विगतमा अनेक चलखेल भए । प्रलोभनमा नपरेकै कारण पाँचौं पटक केन्द्राध्यक्ष बनेर विद्यार्थीहरुसँग सहयात्रा गर्ने अवसर पाउनुनै मेरो जीवनको महत्वपूर्ण पाटो हो ।’

उनले विगतको जस्तो दवाव र प्रलोभन अहिले झेल्न नपरेको बताइन् । ‘अहिले समय फेरिएको छ । अभिभावक पनि बुझ्ने हुनुभएको छ । विद्यार्थीले पनि चिट चोर्न हुँदैन भन्ने बुझेका छन्,’ विद्यार्थीसँग सहयात्रा गर्ने योजना अनुसार फरकरुपमा आफू प्रस्तुत हुने केन्द्राध्यक्ष स्वाँरले भनिन्, ‘केन्द्राध्यक्षले विद्यार्थीलाई सत्रु होइन्, सहयात्री बनाउनुपर्छ ।’

परीक्षालाई व्यवस्थित बनाउने जिम्मेवारी विद्यार्थीको पनि भएकाले उनीहरुलाई चिढ्याउने, त्रसित बनाउने व्यवहारभन्दा मित्रताको व्यवहार देखाउनुपर्ने उनी बताउँछिन् । केन्द्राध्यक्षको जिम्मेवारी निष्ठापूर्वक पालना गर्दै अरु केन्द्रभन्दा शान्त र मर्यादित भएको दावीसहित उनले भनिन्, ‘विगतभन्दा परीक्षा मर्यादित र व्यवस्थित बन्दै गएको छ । विगतभन्दा शिक्षिकामाथि विश्वास पनि बढ्दै गएको छ ।’

बाँकेमा महिला शिक्षिकाले कमाण्ड गरेका परीक्षा केन्द्रमा अन्य केन्द्रभन्दा मर्यादित र शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन भएका छन् । बाँकेमा नेपालगन्जस्थित एबिसी रेसिडेण्टल हाइस्कुल केन्द्रमा सशी स्वाँर, कोहलपुरको सगरमाथा ज्ञानपुञ्ज मावि केन्द्रमा गोमा चालिसे, त्रिभूवन मावि केन्द्रमा देवका थापा, खजुराको जनता मावि सन्तकुटी केन्द्रमा निर्मला गुरुङ्ग, होप इन्टरनेशनल एकेडेमी केन्द्रमा केशवा रेग्मीले केन्द्राध्यक्षको कमाण्ड सम्हालेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतवार १०:५९