सूचनाको शक्ति - The Power Of Information

        

पत्रकारका नाममा धम्क्याउँदै लाखौं ठगी गर्ने भुवन धिताल प्रहरी फन्दामा

अभियुक्त धितालबाट बरामद भएका विभिन्न बैंकका चेक ।

अभियुक्त धितालबाट बरामद भएका विभिन्न बैंकका चेक ।


दाङ्ग । सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाउँदै लाखौं ठगी र जवरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–११, बेलगनार निवासी ४० वर्षीय महेश भनिने भुवन धिताललाई ठगी र जबरजस्ती करणी अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

भागेर काठमाडौं जान लागेका धिताललाई प्रहरीले दुई दिनअघि दाङ र बाँकेको सीमानाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङ्गका एसपी पाण्डेले नक्कली पत्रकार बनेर महिलामाथि यौन शोषण र ठगी गर्दै आएको भन्ने पाँच जना पीडितको जाहेरीको आधारमा धिताललाई पक्राउ गरेको बताए ।

उनको साथबाट चेक रकम १ करोड ६९ लाख, ८२ थान चेक, २ वटा खाली चेक, ३२ वटा तमसुक, तमसुक रकम १ करोड २४ लाख, ४ वटा ढुकुटी खेलाउने रजिष्टर, थप ४ वटा खाली तमसुक, १ थान जलजला अनलाइनको पत्रकार परिचय पत्र, २ थान मोवाइल, १८ हजार ५०० नगद, २ वटा सुनको औंठी, १ थान ब्रासलेट, १ थान हातेघडी, बा१५च ७६६८ नम्बरको गाडी र भे८प ३९५५ नम्बरको स्कुटीसमेत बरामद भएको छ ।

धितालविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ५ जनाले ठगी गरेको भन्दै सामूहिक जाहेरी दिएका छन् भने थप तीन जना महिलाले आफूहरूलाई जबरजस्ती करणी गरेको भन्दै छुट्टाछुट्टै रूपमा जाहेरी दिएको एसपी पाण्डेले जानकारी दिए । शैक्षिकस्तर कमजोर भएका, एकल महिला, पति विदेश गएका महिलालाई धितालले पहिचान गरी योजनावद्धरूपमा ठग्दै आएको एसपी पाण्डेले जानकारी दिए ।

सर्वसाधारणलाई विभिन्न डरत्रास दिँदै ३६ प्रतिशतसम्म ब्याज उठाएको, समूहमा बसेर पैंसा लगानी गर्ने, रकम उठाउने, समूहमा लगानी गर्न हौस्याउने, सुरूमा लगानी गर्दै प्रलोभन देखाउँदै फसाउने गरेको, ढुकुटी खेलाउँदै ठगी गर्दै आएकोजस्ता अभियोग पीडितले सर्वसाधारणको जाहेरीमा उल्लेख रहेको एसपी पाण्डेले बताए ।

‘प्रारम्भीक अनुसन्धानले सर्वसाधारणबाट आएको जाहेरी गलत हो भन्ने देखिँदैन,’ एसपी पाण्डेले भने, ‘अदालतले धिताललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।’ धितालले डरत्रास देखाउँदै सर्वसाधारणवाट ३६ प्रतिशतसम्म ब्याज असुलेको, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र पछि त्यसमा आफूखुसी रकम लेख्ने तथा विभिन्न डर त्रास देखाउँदै यौन शोषण गर्ने गरेको पीडित महिलाले गुनासो गरेका छन् ।

‘कति दिदीबहिनीले उसकै कारण निराश भएर विषसमेत खाए, कतिको उठिवास लाग्यो । अझैं एकजना दिदीका छोरा बेपत्ता छन्,’ प्रहरी कार्यालयमा पुगेकी एकजना पीडित महिलाले भनिन्, ‘हामीलाई बिभिन्न डस त्रास देखाउँदै ठग्ने र बलात्कार गर्नेलाई अपराधीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

अभियुक्त धितालले आफु पत्रकार भएकाले डिएसपीलगायत प्रहरी अधिकारीसँग राम्रो सम्बन्ध रहेको, उनीहरुलाई खसी खुवाउने गरेको, समाचार लखेर अनलाइन र पत्रपत्रिकामा छपाएर बेइज्जत गरिदिन्छु भन्दै धम्काउने गरेको जिल्ला प्रहरी कार्यालयमा पुगेका केही पीडित महिलाहरुले बताएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार १४:२७