काठमाडौं । एसइईको प्रश्नपत्र आउट भएको विषयमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच वाकयुद्ध शुरु भएको छ । महोत्तरी, धनुषा, सप्तरी र पर्सामा प्रश्नपत्र आउट भएको विषयमा प्रदेशका मुख्यमन्त्री राउतले शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेपछि पोखरेल र राउतबीच वाकयुद्ध भएको हो ।
एसइई गराउने जिम्मेवारी लिएर पनि संघीय सरकारका मन्त्री पोखरेलले राम्रोसँग कार्य नगरेको भन्दै मुख्यमन्त्री राउतले राजीनामा मागेका छन् । मुख्यमन्त्री राउतले राजीनामा मागेपछि शिक्षामन्त्री पोखरेल आक्रोशित बनेका छन् । पोखरेलले राउतलाई पदीय हैसियत सिकाएका छन् । त्यतिमात्रै होइन मुख्यमन्त्री राउतले प्रदेश २ को सरकारलाई बदनाम गराउन षड्यन्त्र गरेरै एसईईको प्रश्नपत्र आउट गराएको अभियोग लगाएका छन् ।
मुख्यमन्त्री राउतको यो अभियोगमा कुनै दम छैन । तर, मुख्यमन्त्री राउतले एसइई परीक्षा राम्रोसँग गराउन नसक्ने र प्रश्नपत्र आउट हुँदा पनि जिम्मेवारीमा बस्न रुचाउने शिक्षामन्त्री पोखरेलको राजीनामा माग गर्नु राजनीतिक रुपमा उचित रहेको टिप्पणी भएका छन् । राउतले एसइईको प्रश्नपत्र आउट भएपछि नैतिकताको आधारमा शिक्षामन्त्री पोखरेलले राजीनामा दिनुपर्ने तर्क राख्नु उचित भएको सामाजिक सञ्जालमा टिकाटिप्पणी भएका छन् ।
यता, शिक्षामन्त्री पोखरेलले संघीय सरकारको बदनाम गराउन र सहज रुपमा भएको एसइईको परीक्षालाई केही तत्वले बिथाल्न खोजिएको दाबी गरेका छन् । त्यो कुन तत्व हो एसइई परीक्षा बिथोलेर सरकारको बदनाम गराउन खोजेको विषयमा भने पोखरेलले स्पष्ट भनेका छैनन् । शिक्षामन्त्री पोखरेलले मुख्यमन्त्री लालबाबु राउतले राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताएका छन् ।
‘मैले राजीनामा दिन्न । सरकार र संघीयतालाई असफल बनाउन प्रश्नपत्र आउट भएको छ,’ पोखरेलले भनेका छन्, ‘मुख्यमन्त्री जस्तो व्यक्तिले गैरजिम्मेवारी रुपमा अभिव्यक्ति दिनुहुँदैन । मुख सम्हालेर बोल्नुपर्छ । पदीय जिम्मेवारीलाई भुल्नुहुँदैन ।’ ‘प्रश्नपत्र आउट गराउने दोषी को हो पहिला त्यसलाई खोजेर कारबाही गर्नुपर्छ’, उनले भने, ‘प्रश्नपत्र संघीय सरकारले बनाएको हो । बजेट, अनुगमन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हो ।’
मुख्यमन्त्री राउतले माग गरेअनुसार ७५३ वटा स्थानीय निकायमा परीक्षा बोर्ड बनाउन नसकिने शिक्षामन्त्री पोखरेलले बताए । शिक्षामन्त्री पोखरेलले प्रदेश २ का मुख्यमन्त्री राउतले नै एसइईको परीक्षाको उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाए । शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट भयो भन्दैमा सडकमा गएर प्रदर्शन गर्ने विद्यार्थीको पनि आलोचना गरेका छन् । ‘प्रश्नपत्र आउट भयो भन्दैमा सडकमा जाने होइन,’ उनले भने, ‘परीक्षाको तयारी पो गर्नुपर्छ । सडकमा गएर प्रदर्शन गर्नु राम्रो होइन ।’
सत्यपाटी - ।