सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा गुणस्तरहीन खाना : विरामी कुरूवा भन्छन्, ‘ठेकेदारलाई कारबाही होस्’

बाँके । विरामीलाई खाना खुवाउने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई कारवाही गर्न माग गरिएको छ । भेरी अस्पतालका विरामीलाई गुणस्तरहीन खाना खुवाउने कम्पनीमाथि छानबिन गरी तत्काल कारवाही अघि बढाउँन विरामीका कुरूवाहरूले माग गरेका छन् ।

सरकारी अस्पतालले भर्ना भएका विरामीहरुलाई निशुल्करुपमा खुवाउँदै आएको खाना ‘खाए खा नखाए घिच’ भने झै गुणस्तरहीन खुवाउने गरेको विरामीका आफन्त बताउँदै आएका छन् । यसले अस्पतालहरुबाट उपलब्ध गराइने खानाको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा भएको छ ।

सरकारी निकायहरुमा जताततै विकृति र विसंग्ति मौलाइरहेको बेला सरकारी अस्पतालजस्तो विश्वसनीय र संवेदनशील निकायमा समेत विरामीलाई दिइने खाना गुणसतरहीन हुँदा समेत अस्पताल व्यवस्थापन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गर्न चासो देखाएका छैनन् ।

विरामी भएर निजी अस्पतालमा उपचारको लागि जान नसक्ने निम्न मध्यम वर्गीय परिवारहरु सरकारी खाना बहिस्कार गर्ने मनस्थितिमा समेत पुगेको भेरी असपतालमा उपचार गराइरहेका एक विरामीका आफन्त बताउँछन् । पैसा खर्च गरेर अन्यत्र उपचारको लागि जान नसक्ने विरामीहरु पनि दूषित खाद्यान्नको कारण थप विरामी पर्ने परिस्थिति अहिले उत्पन्न भएको छ ।

भेरीमा वितरण हुने पानी समेत प्रदूषित भएको विरामीका कुरूवा बताउँछन् । दूषित खाना खुवाउनेको कसुर प्रमाणित भएमा जनही दुई वर्षसम्म कैद र १० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान रहेको कानून व्यवसायी बताउँछन् । विरामीलाई खान दिने खानामा मापदण्ड तोकिएको छ । तर, विरामीले तोकिएको मापदण्ड र सहमतिअनुसारको खाना खान पाउँदैनन् ।

अस्पतालको भान्सा सञ्चालन र विरामीलाई खाना खुवाउनका लागि अस्पतालले ठेक्कामा दिएको अस्पतालका निमित्त प्रमुख राजन पाण्डे बताउँछन् । उनले यस बिषयमा अस्पतालमा लिखित निवेदन आएपछि छानबिन तथा कारवाहीको प्रक्रिया अघि बढाउने बताए ।

यता विरामीलाई खाना खुवाउने जिम्मेवारी लिएका ठेकेदार इमाम खानले आफूले मापदण्ड र सहमतिअनुसार नै खाना खुवाएको बताएका छन् । एक विरामीलाई एक छाकमा १११ ग्राम चामल, ४४ ग्राम दाल, ५५ ग्राम तरकारी, ७८ ग्राम आलु, साढे पाँच ग्राम नुन, साढे पाँच ग्राम तेल खुवाउँदै आएको उनले बताए ।

उनले भने, ‘विराीलाई विहान आठ बजे एक गिलास दुध र एउटा अण्डा पनि दिने गरेको छु । तर, नयाँ नियम भेरीमा लागू हुन नसकेकोले अहिले थप केही गर्न सकिएको छैन् ।’ तर, उनले खानाको गुणस्तरताका बारेमा केही बताएनन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार १२:४८