सूचनाको शक्ति - The Power Of Information

        

आठ महीनामा ६० सवारी दुर्घटना, ३७ को मृत्यु

फाइल तस्वीर

बाँके । बाँकेमा चालू आर्थिक वर्षको आठ महीनामा भएका सडक दुर्घटनामा परी ३७ को मृत्यु भएको छ । मुत्यु हुनेमा दुई बालबालिकासहित नौ महिला रहेका छन् । पछिल्लो आठ महीनाको अवधिमा बाँकेमा भएका ६० सवारीसाधन दुर्घटनामा परी ३७ को मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरीक्षक ओमप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, गत वर्षभन्दा यसवर्ष सवारी दुर्घटनामा वृद्धि भएको छ । यो वर्ष सवारी दुर्घटनामा परी ७९ गम्भीर घाइते भएका छन् । अझै केही घाइतेको अस्पतालमा उपचार भइरहेको छ । यो अवधिमा जिल्ला ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लङ्घन गरेका १८ हजार ९५० सवारीसाधनका चालकलाई कारवाहीसमेत गरेको छ ।

बाँकेमा २० असोज २०७५ मा राप्ती सोनारी गाउँपालिकाको कुसुम नजिक ट्रक र हाइस एकापसमा ठोक्किँदा पाँचको मृत्यु भएको थियो । धेरैजसो सवारी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको प्रहरी नायब निरीक्षक पौडेलले बताए । यसबर्ष बाँकेमा नयाँ तरिकाका सवारी दुर्घटना भएका छन्,’ उनले भने, ‘खेत जोत्न गएको ट्रयाक्टरबाट च्यापिएर पनि एकको मृत्यु भएको छ ।’

दुर्घटना न्यूनीकरण गर्न विभिन्न किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बाँकेका ट्राफिक प्रहरी प्रमूख प्रहरी निरीक्षक हिरेन्द्र रोकाय बताए । ‘हामी सवारीसाधन चलाएको अवस्थामा सडकमा सवारीसाधन रोकेर चालकलाई सचेतना दिएका छौँ,’ प्रहरी निरीक्षक रोकायले भने, ‘इन्टरनेटको सहायतामा एप्समार्फत पनि चालकका गतिविधि नियालिरहेका छौँ ।’

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार १२:२२