सूचनाको शक्ति - The Power Of Information

        

कहाँ छन् विप्लव ‘नेकपा’का प्रवक्ता ‘प्रकाण्ड’ ?

काठमाडौँ । हरेक संगठनले आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी संगठनको एक अगुवा व्यक्तिलाई दिएका हुन्छन्, प्रवक्ताको रुपमा । नेपालमा क्रियाशील सबैजसो राजनीतिक दलले आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्न प्रवक्ताको व्यवस्था गरेका छन् । यस्तै व्यवस्था नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेकपा’ ले पनि गरेको छ ।

यतिबेला नेपालका कुनै राजनीतिक दलले उतारचढाव भोग्नुपरेको छ भने, विप्लव नेतृत्वको नेकपाले भोगिरहेको छ । सरकारले सो समूहमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धपछि पार्टीका शीर्ष–मध्यम–तल्लो गरी तीनै तहका नेता–कार्यकर्ताहरु दिनहुँजसो पक्राउ परिरहेका छन् । प्रधानमन्त्री लगायत मन्त्रीहरुले दिनदिनै यो समूहविरुद्ध शाब्दिक जेहाद छेडिरहेका छन् । सो समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) भने केही दिनयता मौन छन् ।

कहीँकतै बोलिरहेका छैनन् । प्रवक्तामात्र होइन, पार्टीभित्र उनी महासचिव विप्लवपछि दोस्रो बरियताको रुपमा विश्वास गरिएका नेतापनि हुन् प्रकाण्ड । यसबाहेक ५ सदस्य रहेको विद्रोही नेकपाको स्थायी समितिको सदस्यपनि हुन उनी । तर, प्रवक्ताको हैसियतमा उनी ‘बेपत्ता’ जस्तै छन् । जबकी, उनलाई सरकारले पक्राउ गरेको चाहिँ छैन ।

सशस्त्र विद्रोहकालमा गल्ती कमजोरी गर्ने आफ्नै नेता–कार्यकर्तालाई माओवादीले श्रमकैदमा राख्ने गरेको थियो, त्यसक्रममा उनीहरु कहीँकतै बोल्न पाउँदैनथे । तर, प्रवक्ता प्रकाण्ड श्रमकैदमा रहेको कुरापनि सार्वजनिक भएको छैन । २८ फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि प्रकाण्डले त्यसको मुकाविला गरिने प्रतिक्रिया दिएका थिए । प्रतिबन्धयता सो समूहले निकै ठूलो क्षति बेहोरेको छ ।

मध्यकमाण्डको ईञ्चार्जसमेत रहेका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली (जीवन्त), पोलिटब्यूरो सदस्य मोहन कार्की (जीवन्त) लगायत दर्जनौँ नेता–कार्यकर्ता गिरफ्तार भएका छन् । जीवन्तको गिरफ्तारीबारे बोलेका सुदर्शन नै १० चैत्रमा पक्राउ परे । तर, त्यो घटनाबारे प्रबक्ता प्रकाण्ड बोलेनन् । बरु, सुदर्शन लगायत नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध ‘नेपाल बन्द’ सहितको कार्यक्रम सार्वजनिक महासचिव विप्लवको बिज्ञप्तीमार्फते सार्वजनिक भयो ।

त्यसअघि भएका अन्य गिरफ्तारी र घटनाबारे पनि प्रकाण्ड एक शब्द बोलेनन् । न उनलाई प्रवक्ताबाट हटाइएको जानकारी सो समूहले सार्वजनिक गरेको छ । न त उनी सरकारको कब्जामा नै परेका छन् । तरपनि उनी किन बोलिरहेका छैनन् ? यति महत्वपूर्ण घटना भइरहँदा पनि उनी किन गुमनाम हुन चाहिरहेका छन् ? प्रवक्ताको व्यवस्था हुँदाहुँदै पछिल्ला घटनाबारे किन महासचिव विप्लव आफै बोलिरहनु परेको छ ?

यसबीचमा ‘प्रवक्ता’ प्रकाण्डबारे राजनीतिक बजारमा विभिन्न हल्ला चलेका छन् । पार्टीले उनलाई प्रवक्ताबाट हटाएको आशंकासहितका समाचार प्रकासित भएका छन् । विप्लवले अविस्वास गरेपछि निष्क्रिय रहेको, आर्थिक अनियमितताको लागेको, गिरफ्तार हुँदा पार्टी निर्णय विपरित वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेर प्रकाण्ड रिहा भएको भन्ने समाचार आएका छन् । १० चैत्रमा पक्राउ परेका सुदर्शन त्यसभन्दा एक हप्ताअघि ४ चैत्रमा काभ्रेको काफलडाँडामा प्रहरीले गरेको ‘रेड’बाट बालबाल उम्केका थिए ।

यद्यपी, उनी पक्राउ नै परेको हल्ला व्याप्त भयो । यस्तो हल्ला चल्दै गर्दा सुदर्शन आफैले त्यहाँ पार्टीका ४ कार्यकर्ता गिरफ्तार भएको जानकारीसहितको विज्ञप्ती जारी गरे । खासमा यो ‘म पक्राउ परेको छैन है’ भन्ने जानकारी दिन जारी गरिएको विज्ञप्ती थियो । प्रकाण्डका बारेमा अहिले त कस्तोसम्म स्थिति सिर्जना भएको छ भने, उनी विप्लव नेतृत्वको ‘विद्रोही नेकपा’ परित्याग गरी ‘सत्तारुढ नेकपा’ मा प्रवेश गर्दैछन् भन्ने हल्ला चलेको छ ।

वर्तमान सरकारलाई ‘दलाल’ को संज्ञा दिँदै क्रान्तिको चर्काे वकालत गर्दै आएका प्रकाण्डबारे चलेको यस्तो हल्लाले उनको राजनीतिक प्रतिबद्दतामाथि नै प्रश्न चिन्ह सिर्जना गर्ने काम गरेको छ । तर, यतिआखिर प्रबक्ता प्रकाण्ड किन मौन छन् ? किन उनीबारे अनेक हल्ला चलिरहँदा महासचिव विप्लव आफै पनि बोलिरहेका छन् । किन उनी ‘बेपत्ता’ छन् ?

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार ११:१७