सूचनाको शक्ति - The Power Of Information

        

आठौँ राष्ट्रिय खेलकुदको अन्यौलता हट्यो, वैशाख ५ गते उद्घाटन खेल

अस्थायी प्याराफिट जडान हुँदै ।

बाँके । आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन वैशाख ५ गते हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकुद बैशाख ५ देखि ११ गतेसम्म गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै आठौँ राष्ट्रिय खेलकुद हुन्छ कि हुँदैन भन्ने अन्यौल हटेको छ । आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन स्थल नेपालगन्ज रंगशालामा भीआइपी प्यारापिट निर्माणमा ढिलाई भएकाले आठौँ राष्ट्रिय २०७६ मा पुगेको छ ।

आठौँ राष्ट्रिय खेलकुदका धेरै खेलहरु भने चैत्र २४ गतेदेखि नै शुरु हुने राखेपका सदस्य सचिव केशवकुमार विष्टले बताए । ‘धेरै खेलहरु चैत्र मै शुरु हुन्छ । सकिन्छ पनि’, सदस्य सचिव विष्टले भने, ‘बैशाख ११ गतेसम्म चार वटा टीम गेम पुग्छ ।’ सदस्य सचिव विष्टले चैत्र २७ गतेदेखि उद्घाटन गर्ने मनस्थिति बनाए पनि खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले त्यतिबेलासम्म भीआइपी प्यारापिट बनिसक्दैन कि भन्ने आशंका गरेर खेलकुदको कुम्भमेलालाई बैशाखमा पुर्याएका हुन् ।

‘७ देखि १० दिनमा भीआइपी प्यारापिट जडान भइसक्छ चैत्र महिनामै उद्घाटन राख्न सकिन्थ्यो,’ पदाधिकारी स्रोतले भन्यो, ‘मन्त्रीलाई विश्वास नलागेपछि कसको के लाग्छ र ?’ सदस्य सचिव विष्टले कुनै पनि हालतमा २०७५ भित्रै खेल हुन्छ भनिरहेका थिए । राखेपकै केहीले भौतिक पूर्वाधार सम्पन्न नभएसम्म प्रतियोगिता गराउनु हुँदैन भन्ने लबिङमा थिए । मन्त्री विश्वकर्मा पछिल्लो लबिङमा मिसिएको स्रोतले बतायो ।

‘२०७५ सालमा गर्दा निर्धारित समयभित्रै राष्ट्रिय खेलकुद हुन्थ्यो । २०४२ सालपछिको ऐतिहासिक काम हुन्थ्यो, मन्त्रीज्यूलाई किन ५ दिन पर प्रतियोगिता धकेल्न मन लाग्यो । बुझ्न सकिएन’, स्रोतले भन्यो, ‘यो सबै जुँगाको लडाई हो ।’ आठँै राष्ट्रिय खेलकुदको उद्घाटन बैशाख ५ गते हुने निश्चित भइसकेको छ । यता चैत्र मै धेरै खेलहरु सकिने सदस्य सचिव विष्टले बताइसकेका छन् ।

अनि, के आठौँ राष्ट्रिय खेलकुदका धेरै खेलहरु उद्घाटन मिति भन्दा अगाडि नै सकिने भए त ? बैशाख ५ गते अघि नै धेरै खेलहरु सकिन्छन् भने उद्घाटन किन बैशाखमा सार्नु परेको हो? चासोको विषय बनेको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले मिति घोषणा भएसँगै आठौं राष्ट्रिय खेलकुदको अन्यौलता समाप्त भएको बताए ।

नेपालगन्जलाई केन्द्रविन्दु बनाएर हुन लागेको आठौँ राष्ट्रिय खेलकुदका लागि सवा अर्ब बढीको पूर्वाधार निर्माण भएको छ । बर्मुडा दुबोले हरियाली बनेको रंगशालामा चाइनाबाट ल्याइएको भीआइपी प्यारापिट ठड्याउने काम भइरहेको छ । कभर्डहलको मर्मत सम्भार भएको छ । भारोत्तोलन र सुटिङ रेञ्ज बनिसकेको छ । पौडी पोखरीको काम अन्तिम चरणमा पुगेको छ ।

२०३८ सालदेखि नेपालमा शुरु भएको राष्ट्रिय प्रतियोगितामा अहिलेसम्म पौडी प्रतियोगिता काठमाडौँमा हुँदै आएकोमा यसपाली नेपालगन्जमै गर्ने तयारी भइरहेको छ । आठौँ राष्ट्रिय खेलकुदले गर्दा खजुरामा भलिबल स्टेडिएम र कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदान चाँडै तयार भएको छ । २०५५ सालमा चौथो राष्ट्रिय खेलकुद गरेको नेपालगञ्जले आठौँमा आइपुग्दा देशभरका खेलाडीलाई पूर्वाधारयुक्त भएर स्वागत गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार ०७:२३