बाँके । सरकारी जग्गा निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा मालपोत कार्यालय नेपालगन्जका पाँच जना कर्मचारी प्रहरीको फन्दामा परेपछि कार्यालयको काम नै प्रभावित भएको छ । मालपोत कार्यालय बाँकेका नायव सुब्बा रुद्र देवकोटा, टंक शर्मा र रामबहादुर खड्का, कम्प्युटर अप्रेटर यज्ञश्वर वली र प्रेम चन्दलाई गत चैत्र ४ गते बाँके प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सेवाग्राहीको धेरै भिडभाड हुने कार्यालयमा एकैपटक पाँचजना कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या भएको मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले जानकारी दिए । प्राविधिक कर्मचारी नहुँदा सेवा प्रवाहमा केही समस्या भए पनि आफुहरु सेवाग्राहीहरुलाई सहज रुपमा सेवा दिने प्रयत्न भइरहेको उनले बताए । सेवा प्रवाहमा समस्या आउने स्थिति आए पनि अन्य कार्यालयबाट कर्मचारी झिकाएर काम नियमित पार्न खोजिएपनी सम्भव हुन सकेको छैन ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरुको वयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ । भूमी सुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोख्रेल पनि बाँके प्रहरीले पक्राउ गरेको अनुसन्धान गरिरहेको छ ।
सत्यपाटी - ।