सूचनाको शक्ति - The Power Of Information

        

सकियो कर्मचारी समायोजन, अभाव भए करारमा लिएर काम गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजनाको सबै काम सम्पन्न गरिएको जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना अनुसार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको जानकारी गराएको हो ।

संवैधानिक व्यवस्था अनुसार संघीय संरचनाका लागि सबै कर्मचारी समायोजनको काम सकिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए । उनले केही प्राविधिक कर्मचारीहरु अभाव भए करारमा लिएर काम चलाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरिएको पनि बताए ।

सरकारले यही आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ । देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरुको अभाव भइरहेको गुनासो आइरहेका बेला मन्त्री पण्डितले चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षा लिन लोक सेवा आयोगलाई निर्देशन दिएको पनि बताए ।

अव लोकसेवा आयोगले तत्काल २० हजार विभिन्न तहको कर्मचारीको लागि लोक सेवा आयोग आवेदन खुला गर्नेछ । सोही लोकसेवा आयोगको परीक्षा पास गरेकाहरुबाट आवश्यक कर्मचारीको व्यवस्था गर्ने मन्त्री पण्डितको योजना छ । मन्त्री पण्डितले कर्मचारीहरुको व्यवस्थापनका लागि प्रदेश लोकसेवा आयोग गठन नभएसम्म संघीय लोकसेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि परीक्षा लिने काम गर्ने पनि बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार १३:००