सूचनाको शक्ति - The Power Of Information

        

च्याउ उत्पादनमा आधुनिक प्रविधि भित्र्याएका युवा भन्छन्, ‘उत्पादन क्षमता अझै बढाउँछौं’

बाँके । नेपालमा धेरै मानिसहरुले आ–आफ्नै शैलीमा च्याउ खेती गर्दै जीवनयापन गरेका छन् । तर, बाँकेका केही युवाहरूले आधुनिक प्रविधिबाट च्याउ उत्पादन गर्दै यस खेतीमा नयाँ आयाम ल्याएका छन् । बजारमा विदेशी र गुणस्तरहीन च्याउको बिगबिगी बढेको बेला बाँकेका युवाले च्याउ उत्पादन थालेका हुन् ।

यहाँका युवाहरुले बाँकेको बैजनाथ गाउँपालिका–१ गाभरमा भ्याली एग्रो फर्म स्थापना गरेर गुणस्तरीय अर्गानिक च्याउ उत्पादन गरिरहेका छन् । बजारमा विदेशी र गुणस्तरहीन च्याउको बिगबिगी बढेको बेला बाँकेका युवा मिलन बस्नेत, सन्तोष शर्मा, अंकित अग्रवाल, सुरेश वोगटी लगायतको समुहले करिब साढे बर्षअघि रु.एक करोडको लगानीमा शुरू गरिएको उक्त फर्ममा अहिले उनीहरूले दुई करोड लगानी गरिसकेको छ ।

शुरूमा एक करोड लागतमा सञ्चालित उक्त फर्ममा अहिले व्यक्तिगत ६५ लाख र साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको अनुदान रकम ३१ लाख ५७ हजार सात सय ३७ गरी ९७ लाख २८ हजार तीन सय नौ रूपैयाँ थप लगानी गर्दा शुरूदेखि अहिलेसम्म करिब दुई करोड लगानी भइसकेको फर्मका सञ्चालक मिलन बस्नेत बताउँनछन् विगतमा बार्षिक ३० हजार किलो च्याउ उत्पादन भएपनि लगानी थपिएसँगै अहिले च्याउको उत्पादन पनि बढ्ने उनले बताए ।

उनकाअनुसार उक्त फर्मबाट बार्षिक ११२ टनसम्म चाउ उत्पादन हुनेछ । उत्पादित सबै च्याउ बजारमा सहजै खपत भएको छ । बैजनाथमा उत्पादित उक्त च्याउ कोहलपुर, नेपालगन्ज, सुर्खेत, वुटवल, पोखरा नारायणगढ र काठमाडौंमा खपत भइरहेको छ । उनले भने, ‘बजारमा च्याउको माग बढेको छ हामीसँगको अहिलेको उत्पादनले माग अनुसार आपूर्ति गर्न सकिरहेका छैनौं । त्यसैले अब उत्पादन क्षमता अझै बढाउने योजना छ ।’

नेपालमै पहिलो पटक बाँकेको बैजनाथको गाभरमा आधुनिक एसी प्रविधिबाट च्याउ उत्पादन भइरहेकोले स्थानीय तहमा रहेका कच्चा पदार्थको समेत सदुपयोग भएको छ ।

उनकाअनुसार अनुदान दिने संस्थाले थप रहकम प्रदान गरिसकेकोले अबको केही महिनाभित्रै च्याउको उत्पादन बृद्धिका लागि तीनवटा नयाँ च्याउ उत्पादन भवन निर्माण गरिने छ । ‘अहिले एउटै भवनमा यतिधेरै उत्पादन छ,’ उनले थप्दै भने, ‘नयाँ तीनवटा भवन थपिएपछि च्याउको उत्पादन बढ्छ र हामी बजार मागलाई पुरा गछौं ।’ नेपालमै पहिलो पटक बाँकेको बैजनाथको गाभरमा आधुनिक एसी प्रविधिबाट च्याउ उत्पादन भइरहेकोले स्थानीय तहमा रहेका कच्चा पदार्थको समेत सदुपयोग भएको छ ।

यतिमात्रै होइन् वेरोजगार भएकै कारण तनावमा पर्ने गरेको बैजनाथका महिलाले घरआगनमै रोजगारी पाएका छन् । उक्त फर्ममा अहिले दैनिक २० जना महिलाले रोजगारी पाएको स्थानीय महिला मीना रावलले बताइन् । उनकाअनुसार गाभरमा च्याउ फर्म स्थापनाले यहाँका महिलाको आयस्तरमा समेत बृद्धि भएको छ । फर्मले आफनो उत्पादन क्षमता बृद्धि गर्दै गए यहाँका थप महिलाहरूले रोजगारी पाउने र उनीहरूको आयस्तरमा अझै बृद्धि हुने रावलको भनाई छ ।

च्याउ उत्पादनमा स्थानीयस्तरमै उपलब्ध हुने साधन स्रोत गहुँको भुस, कुखुराको सुली, चोक्कर लगायतका स्थानीयस्तरका रासायनहरुको सदुपयोग भइरहेको फर्मका अर्का सञ्चालक अंकित अग्रवाल बताउँछन् । च्याउको उत्पादनलाई सशक्त व्यावसायीक उत्पादन गर्ने योजना भएपनि त्यसका लागि सरकारले युवा लक्षित कार्यक्रम, आयआर्जनमुलक कार्यक्रममा आर्थिक तथा प्राविधिकरूपमा प्रयाप्त सहयोग गर्न नसक्दा बजार मागअनुसार तत्कालै उत्पादन बृद्धि गर्न नसकिएको अग्रवालको भनाई छ ।

च्याउ उत्पादनका लागि उनीहरुले गाउँघरमै पाइने धानको भुस, पोलिथिनको ब्याग एवम् च्याउको बीउको प्रयोग गर्ने गरेका छन् । धानको भुसलाई पानीमा उमालेर पोलिथिनको भाँडामा राखिन्छ, त्यसपछि त्यसमा च्याउको बीउ हालेर युरोपियन एसी प्रविधिले च्याउ उत्पादन गर्दै आएको उनीहरू बताउँछन् । बाह्रै महिना च्याउ उत्पादन गरिने हुँदा निकट भविष्यमा १५ वटासम्म भवन निर्माण गरी च्याउ उत्पादनको क्षमता बृद्धि गर्ने युवा व्यवसायीहरूको योजना छ ।

च्याउ उत्पादनका लागि नकुहिएको पराल, नाइट्रोजनयुक्त मल, सुपर फोस्फे, कृषि चुन, च्याउको बीउ, एमोनियम सल्फेट, ढुसीनाशक विषादी र बाँके तराई क्षेत्र भएकाले एसीयुक्त वातावरण आवश्यक पर्ने कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकाल बताउँछन् । ‘यो क्षेत्रमा गर्मी बढी नै हुने भएकाले कोठालाई चिसो बनाइराख्नुपर्ने देखिन्छ,’ प्रमूख ढकालले भने, ‘बाँकेमा अहिले च्याउ उत्पादमा युवाहरुको चासो बढेको छ । यो सकारात्मक पनि हो ।’ उनका अनुसार कृषकहरुका लाष् िकृषि ज्ञान केन्द्रबाट आवश्यक सहयोग भइरहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार १२:२६