सूचनाको शक्ति - The Power Of Information

        

जुम्लामा जनस्वास्थ्य र सुँडेनीको पढाई

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान जुम्लाले स्नातक तहमा जनस्वास्थ्य र सुँडेनी (मिडवाइफ्री) अध्ययन सुरु गर्न लागेको छ । कर्णाली प्रदेशमा पहिलोपटक पब्लिक हेल्थमा २० र मिडवाइफ्री १० जनाले यही चैत १७ गतेदेखि सो तहको अध्ययन सुरु गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।

ती तहमा अध्ययन गर्ने अधिकांश कर्णाली प्रदेशका र केही अन्य प्रदेशका रहेका छन् । यसअघि स्नातक तहको नर्सिङ र प्रमाणपत्र तहको स्वास्थ्य सहायक तहको अध्ययन अध्यापन सुरु गराइसकेको छ । स्नातक तहको एमबिबिएस र एमडिजीपीका तहका अध्ययन अध्यायन गराउन प्रतिष्ठानले आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजेन्द्र वाग्लेले जानकारी दिए ।

नेपाल मेडिकल काउन्सिल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुगमन टोलीले जुम्लास्थित प्रतिष्ठानको ती तहका अध्ययनका भौतिक पूर्वाधार, उपकरण, जनशक्तिको स्थलगत अध्ययन पूरा गरिसकेको छ । तर काउन्सिलले हालसम्म ती तहको अध्ययन अनुमति नदिँदा कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि थप समस्या बन्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती दुई तहका अध्ययन प्रतिष्ठानबाट गराउन स्वीकृत प्रदान गरिसकेको छ ।

प्रतिष्ठानले तयार गरेको भौतिक संरचना, उपकरण, जनशक्ति तथा जुम्ला अस्पतालको व्यवस्थापन चिकित्सा विज्ञानको एमडी तहसम्म अध्यायन गराउने रहेको छ । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले यही भोली स्नातक तहका जनस्वास्थ्य र सुँढेनी (मिडवाइफ्री) अध्ययन कार्यको शुभारम्भ गर्ने प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए । प्रतिष्ठानले पछिल्लो प्रतिष्ठानमा अक्सिजन प्लान्ट र जुम्ला अस्पतालभित्र नै रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार ११:२९