सूचनाको शक्ति - The Power Of Information

        

पाँच वर्षभित्र चन्द्रमामा फेरि मानिस !

काठमाडौं । अमेरिकाले अबको पाँच वर्षभित्र चन्द्रमामा मानिस पठाउने लक्ष्य रहेको बताएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अन्तरिक्ष एजेन्सी नासालाई अबको पाँच वर्षभित्र अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाएको देख्न चाहेको बताएका हुन् । चीनले हालै रोबोटिक मिसनमा पाएको सफलताको उदहारण दिँदै उपराष्ट्रपति पेन्सले चन्द्रमामा मानिस पठाउनु पर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘हामीले अहिले अन्तरिक्षको दौडमा छौँ, सन् १९६० को दशकमा जस्तै ।’ नासाले यसअघि नै चन्द्रमामा मानिस पठाउने तयारी थालेको थियो, तर उप–राष्ट्रपति पेन्सको घोषणाले समय सीमा नै तोकिदिएको छ । अलबामाको हट्सनभिलामा नेशनल स्पेस काउन्सिलको बैठकमा सहभागी भएका बेला पेन्सले चन्द्रमामा मानिस पठाउनु पर्नेमा जोड दिएका हुन् ।

उपराष्ट्रपति पेन्सले भनेका छन्, ‘यो अहिलेको सरकार र अमेरिकाको नीति नै हो कि अमेरिकी अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पुनः पठाइने छ अबको पाँच वर्षभित्र । हामी २० औँ शताब्दीमा चन्द्रमामा पुग्ने पहिलो देश थियौँ, र २१ औँ शताब्दीमा पुनः चन्द्रमामा पाइला टेक्ने इतिहास पनि अमेरिकी अन्तरिक्ष यात्रीले लेखाउने छन् ।’ नासाले यो पटक चन्द्रमाको लुनार साउथ पोललाई लक्षित गरेको छ, जहाँ हरेक समय अँध्यारो हुन्छ ।

यो पोलमा हिउँको रुपमा पानी पनि रहेको छ, यसलाई अन्तरिक्ष यानका लागि इन्धनको रुपमा प्रयोग गर्ने नासाको लक्ष्य छ । सन् १९६९ मा निल आर्मस्ट्रोङ्ग चन्द्रमामा पाइला टेक्ने पहिलो मानिस बनेका थिए । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रशासक जिम बर्डेन्स्टिनले ट्वीट गर्दै चुनौति स्वीकार रहेको र अबको समय काम गर्ने बेला आएको बताएका छन् । केहीले भने समय सीमा अति नै कम रहेको र चूनौतिपूर्ण पनि रहेको बताएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार ०७:०९