सूचनाको शक्ति - The Power Of Information

        

‘विप्लव’ नेकपाका चार जना बाँकेमा पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार जिल्लाका विभिन्न स्थानबाट चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका–१, चिसापानी बस्ने कृष्णबहादुर शाही, सल्यान घर भई नेपालगन्ज उपमहानगरपालिका–२० मा चित्रबहादुर बिक ‘कुमाख’, हुम्ला घर भई कोहलपुर–११ मा बस्दै आएका दानबहादुर खड्का र राप्तीसोनारी गाउँपालिका–१ का सन्तोष खड्का रहेका छन् ।

जिल्ला जनसरकार प्रमूख रहेका शाहीविरुद्ध विभिन्न मोवाइल टावरमा आगजनी लगायतका संगठीत अपराध सम्बन्धी मुद्दा चलाइएको छ भने बाँके जिल्ला कमिटी सदस्य एवं न्यायिक विभाग इन्चार्ज रहेका विकमाथि राजद्रोहको मुद्दा चलाइएको छ । शाही खजुरा र बैजनाथमा रहेका एनसेल टावरमा आगजनी गरेको अभियोगमा फरार रहेका थिए ।

प्रहरी उपरीक्षक पौडेलका अनुसार विभिन्न स्थानमा बम राख्ने कार्यमा संलग्न रहेको आरोपमा हुम्ला घर भई कोहलपुर–११ बस्दै आएका दानबहादुर खड्का र राप्तीसोनारी गाउँपालिका–१ का सन्तोष खड्कालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । खड्काद्वयलाई आज अदालत पेश गरेर मुद्दा चलाउने तयारी भइरहेको छ ।

‘सरकारले ‘विप्लव’ नेकपामाथि प्रतिबन्ध लगाएपछि सुरक्षा निगरानी कडा पारेका छौं,’ प्रहरी उपरीक्षक पौडेलले भने, ‘बाँकेमा अहिलेसम्म अप्रिय घटना नभएको र हुन नदिनका लागि हामीले सबै संयन्त्रहरु परिचालित गरिरहेका छौं । सरकारको निर्णयपछि सुरक्षा व्यवस्था कडा पारेका छौं ।’

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार ११:५८