कुमार श्रेष्ठ । बाँके । सीमावर्ती भारतीय शहर रुपैडिहाको रेलवे स्टेशनमा एकजना अधबैसे मानिसको मुखबाट ठुस–ठुस्ती रक्सी गन्हाइरहेको थियो । नेपालगन्ज बाहिरका केही साथीसँग रुपैडिहा रेलवे स्टेशनमा पुग्दा ती अधवैशेको नजिक गन्हाएर बस्न सकिने अवस्था थिएन । ती अधवैशे भारत मटेलाका धर्मराज रहेछन् । रुपैडिहाबाट दश रुपैयाँको टिकट काटेर रेलमा चढेपछि एक घण्टामा मटेला पुगिन्छ ।
धर्मराज रेल चढेर सीमावर्ती नेपाली बजार जमुनाहामा मदिरा खान आएका रहेछन् । मदिरा पिएर उनी घर फर्किदै थिए । ‘तीन शिशी खाए । टन्न भो, हिन्दीमा धर्मराजले भने, नेपाली ब्राण्ड भारतमा पाइँदैन । नेपालको रक्सी मिठो हुन्छ,’ उनले भने । भारतको उत्तरप्रदेशमा मदिरामा कडाई गरिएको छ । नेपालमा जसरी खुलेयाम मदिरा पिउन पाइँदैन । मदिराप्रेमी धर्मराजहरु रेल चढेर सीमावर्ती नेपाली बजारमा आएर मदिरा पिउने गरेको पाइन्छ ।
‘नेपालमा सस्तो पनि पर्छ । मज्जाले बसेर खान पाइन्छ,’ हिन्दीमै धर्मराजले थपे, ‘सस्तो र राम्रो पाइने भएपछि एक घण्टाको बाटो कति टाढा हो र ?’ मदिराको तालमा धर्मराज बोलिरहेका थिए । उनको नजिक बस्न सकिने अवस्था थिएन । चार बजे रेल चल्न शुरु भएपछि धर्मराज आफ्नो सीटमा गएर बसे । मदिराको तालमा गफ गर्न पाएकाले खुशी देखिएका उनी रेलमा बसिसकेपछि पनि हात हल्लाउदै थिए ।
उत्तर प्रदेशमा मदिरामा कडाई भएपछि र सस्तो तथा बसेर मन चाहेको ‘सितन’सँग खान पाइने भएकाले भारतीय मदिराप्रेमीहरु रेल चढेर सीमावर्ती नेपाली बजारमा मदिरा पिउन आउने गर्दछन् । मटेला, बहराइच, गोण्डा, श्रावस्तीका मदिराप्रेमीहरु सीमावर्ती नेपाली बजारमा आउने गरेको व्यवसायीहरु बताउँछन् । नाकामा रहेको नेपालीका होटल भारतीय मदिराप्रेमीले नै चलाइदिएका छन् । कतिपय व्यापारीले मदिराको तस्करी गर्न थालेपछि प्रहरीले बेलाबेलामा छापा मार्ने गर्दछ । ३०–३५ रुपैयाँ पर्ने सोफीजस्तै कर्णाली मदिरा कमाई थोरै हुनेहरुले पिउने गर्दछन् ।
#देश सञ्चार
कुमार श्रेष्ठ - ।