काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक युवा नेता नरबहादुर कार्कीले सरकारले व्यक्तिगत स्वतंत्रता र गोपनीयताको ख्याल नगरी मानवअधिकार हनन् गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले विप्लव लगायतका नेताहरुको प्रहरी प्रशासनले कल ट्रयापिङ गर्ने गरेको तर्फ संकेत गर्दैै राज्यले मुलुकमा अघोषित संकटकाल थोपरेको बताएका छन् । प्रहरीले विप्लवको लोकेशन पत्ता लगाउँन कल ट्रयापिङ गर्ने गरेको कुरा सञ्चार माध्यममा आएको थियो ।
अदालतको अनुमतिबिनै मनपरी ब्यक्तिहरुको कल ट्रयापिङ गरेर ब्यक्तीको गोपनियताको ठाडो उल्लंघन गरेको उनको भनाइ । प्रहरीले आफ्नोसमेत कल ट्यापिङ्ग गरेको उनको भनाई छ । केहि समयअघि नेकपामा प्रवेश गरेका कार्की चर्चित सामाजिक अभियान्त हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् ।
‘मलाई थाहा छ म कहाँ छु भन्नेबारे राज्य परिचालित र अघोषित संकटकाल थोपर्नेहरुलाई थाहा छ, मलाई यो पनि थाहा छ ममाथि कुन बयान र अपराधको मुद्दा लगाउने सम्भावना छ, तर म भागेर बाच्ने छैन । मलाई थाहा छ, लोकेसन थाहा पाउन यो राज्यकै आफ्नो कानुनले सुविधा नदिएको अदालतको अनुमतिबिना मेरो कल डिटेल लिन नपाउने सुविधा सुरक्षा निकायले प्रयोग गरेको छ,’ उनले फेसबुकमा लेखेका छन् ।
फेसबुकमा भनिएको छ, ‘हजारांै फोनहरु गैरन्यायिकरुपमा सुरक्षा निकायले ट्रयापिङ गरेको छ । मेरो फोन पनि ट्रयापिङ भएको छ । म फोन छोडेर जान्न किनकी भोली मैले यो सुरक्षा अधिकारी, प्रशासन र टेलिकमबिरुद्ध मेरो अधिकार हननको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजान सक्छु । मेरो मोबाइलमा मेरो अधिकार छैन भने मेरो गोपनियतामाथि मजाक गर्ने र मेरै पैसा लिने सेवा प्रदायक ब्यवस्थापनले सामुहिक अधिकारको हननविरुद्ध जनता र विश्व समुदायलाई उत्तर दिनुपर्नेछ । यो मुद्दा मैले आफ्नो निम्ति होइन ती सबै पैसा तिरेर सेवा लिनेहरुको असुरक्षाविरुद्ध यहाँ अभिब्यक्त गरेको छु ।’
सत्यपाटी - ।