काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् । मरिचमान श्रेष्ठले आफ्नो फेसबुकमा स्टाटस लेख्दै मेरी बास्सैबाट अलग भएको घोषणा गरेका हुन् ।
स्टाटसमा मरिचमानले कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग हुने निर्णय गरेको बताएका छन् । मरिचमान श्रेष्ठ र राजु पौडेलले नै मेरी बास्सैको लेखन तथा निर्देशन गर्दै आएका थिए । ‘हामी मेरी बास्सैसँगै अन्य केही प्रोजेक्टको तयारीमा थियौँ ।
‘मिडिया हबका प्रमुखले ‘मेरी बास्सै’मा मात्रै केन्द्रित हुनुस्, कि छोड्नुस् भन्नुभयो । हामीले छाड्ने निर्णय लियौँ,’ राजु पौडेलले भने । मिडिया हबका प्रमुख सोम धितालले सहमतिमै उनीहरु अलग भएको बताएका छन् । ‘कुनै कलाकारले छोड्दैमा कार्यक्रम बन्द हुँदैन । हामी अरु कसैलाई जिम्मेवारी दिएर पनि यसलाई निरन्तरता दिन्छौँ,’ प्रमुख धितालले भने ।
यसअघि मिडिया हबले समयमा पैसा नदिँदा बारम्बार हास्य टेलिश्रृंखलाहरु अवरुद्ध हुने र कलाकारहरुले छोड्ने गरेका थिए । तर अहिले भने पैसाका कारण नभएको कलाकार राजु पौडेल बताउँछन् । मेरी बास्सैको सुरुवात सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा)ले गरेका थिए । उनीहरुले छोडेपछि मेरी बास्सैको लेखन तथा निर्देशनको जिम्मा राजु मास्टर र बल्छी धुर्वेले पाएका थिए ।
।