सूचनाको शक्ति - The Power Of Information

        

चैत २७ मा तेस्रो पटक तोकियो आठौं खेलकूद प्रतियोगिताको मिति

बाँके । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २७ गतेदेखि सुरु हुने जनाएका छन् । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले चैत २७ गते बेलुकी ८ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको विष्टले जानकारी दिए ।

यसअघि दुईपटक मिति तय गरिए पनि तयारी नपुगेका कारण स्थगित भएको थियो । राखेपले २७ गते प्रतियोगिता संचालन गर्ने निर्णय १५ चैतमा बस्न राखेपको बोर्ड बैठकले निर्णय गर्ने बताए । भिआइपी प्याराफिट आज विहानदेखि नेपालगन्ज रंगशालामा जडान हुने बताउँदै उनले भिआइपी प्याराफिटलाई जडान गर्न १५ दिन लाग्ने जानकारी दिए ।

नेपालगन्जमा एक अर्वको लगानीमा भौतिक संरचना निर्माण भएको बताउँदै राखेप सदस्य सचिव विष्टले नेपालगन्जको इतिहासमै यति ठुलो लगानीमा पहिलो पटक प्रतियोगिता हुन लागेको बताए । ‘नेपालगन्जले भौतिक संरचनामात्र पाएको छैन, प्रतियोगिताले नेपालगन्जको अर्थतन्त्रमा समेत टेवा पुर्याउने छ,’ उनले भने । प्रतियोगिताकोे उद्घाटन भव्य समारोहबीच हुने मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए ।

समन्वय बैठकमा उपस्थित नेपालगन्ज उपमहानगरपालीकाका मेयर डा.धवलसमशेर राणा, उपमेयर उमा थापामगर, खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपति, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी प्रमुख एसपी अरुण पौडेल, सशस्त्र प्रहरी बल प्रमुख एसपी भेषबहादुर शाह, नेपालगन्ज उद्योग वाणिज्य सघंका अध्यक्ष नन्दलाल बैश्य लगायतले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार ०८:५६