सूचनाको शक्ति - The Power Of Information

        

सरकारले भन्यो, ‘पूर्वराजाको गतिविधि बेठीक’

काठमाडौं । सरकारले पूर्वराजाको पछिल्लो समयको देश दौडाहा राजनीतिक भएको भन्दै त्यस्तो गतिविधि ठिक नभएको ठहर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा यसबारेमा छलफल भए पनि कुनै निर्णय भने नगरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए ।

मन्त्री पण्डितले आइतबार बिहान भने, ‘गणतन्त्रमा राजतन्त्रका गतिविधि हुनुहुन्न भन्ने बारेमा हामीले छलफल गरेका छौं । पूर्वराजाको गतिविधि ठिक नभएको भन्ने हाम्रो निष्कर्ष हो । हामीले कुनै निर्णय नै भने गरेका होइनौं । छलफल चाहिँ भएको हो ।’ उनले नेपालका लागि भारतका राजदूत मन्जिभसिँह पुरीको भूमिका पनि कुटनीतिक मर्यादा अनुरुप नभएको बारेमा सरकारले छलफल गरेको जनाए ।

‘राजदूतको भूमिका बारेमा परराष्ट्र मन्त्रालयमार्फत नै कुरा अघि बढ्ला,’ उनले भने । तराईको जिल्ला भ्रमणका क्रममा पूर्वराजा जनकपुरको सीता शरण होटलमा बसेको बेलामा भारतीय दूतावासका अधिकारीहरुसँग भेट गरेको भन्ने विषयलाई लिएर पूर्वराजा अहिले विवादमा आएका हुन् । तर भारतीय दूतावास स्रोतका अनुसार त्यसबेला राजदूत पुरीले पूर्वराजालाई भने भेट गरेका थिएनन् ।

तराईका जिल्लाको भ्रमणका क्रममा सप्तरीबाट पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार राति करिब १० बजे झापा पुगेका थिए । अहिले पनि उनी झापामै छन् । उनलाई पत्रकारले गएको आइतबार सप्तरीमा सोधेका थिए, ‘यो भ्रमण राजसंस्था ब्युँताउने तयारीका लागि हो ?’ उनको जवाफ थियो, ‘यो कुरा जनतासँग नै सोध्नुस् ।’ उनी सप्तरीमा छिन्नमस्ता मन्दिरको दर्शन गर्न पनि गएका थिए ।

सो अवसरमा पूर्वराजालाई समर्थकहरुले पूष्प गुच्छाले स्वागत गरेका थिए । सयौंको संख्यामा रहेका स्थानीय बासिन्दलाई उनले गाडिबाट नै हात हल्लाएर अभिवादन फर्काएका थिए । पूर्वराजा ज्ञानेन्द्र २०७५ सालभर नै निकै व्यस्त रहेको उनको भ्रमण तालिकाबाट प्रष्ट हुन्छ । उनले भ्रमणका क्रममा देशबासीसँग कुनै न कुनै हिसाबले सम्पर्क बढाएका छन् । उनी गत वैशाख ३० गतेदेखि जेठ १३ गतेसम्म सिमरा भ्रमणमा गएका थिए ।

त्यसपछि असार २० देखि ३० गतेसम्म नेपालगञ्ज, साउन १६ देखि भदौ १ गते सम्म थाइल्याण्ड, पुस २ देखि पुस १८ सम्म पोखरा, माघ २३ देखि फागुन २२ गतेसम्म फेरि सिमरा र फागुन २६ गतेदेखि हालसम्म झापा मुकाम बनाएर तराईको भ्रमणमा छन् । उनी एक पटक विदेश भ्रमणमा जाँदा बाहेक अरु समय स्वदेशकै कार्यक्रममा व्यस्त रहेका छन् ।

गत आइतबारदेखि भने उनी झापामा बसिरहेका पूर्वराजा केहीदिनमा इलाम जाने तयारीमा छन् । पूर्वराजा निकट स्रोतले आइतबार बाह्रखरीलाई बताएअनुसार उनी केही दिनमा इलाम जाने तयारी भइरहेको छ । ‘इलामबाट निम्तो आइरहेको छ । के गर्ने भन्ने निर्णय हामी केही दिनमा गछौं,’ पूर्वराजा निकट स्रोतले भन्यो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतवार १४:१४