सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ९४३ क्षयरोगीमध्ये ७० जना बहुऔषधि प्रतिरोध विरामी

बाँके । बाँकेमा ९४३ जना क्षयरोगका विरामीले औषधि सेवन गरिरहेका छन् । जसमा नयाँ खकार पोजिटिभ ४५१, खकार नेगेटिभ पुरुष ३४८ र अन्य १४४ जना रहेका छन् । आर्थिक वर्ष २०७४/०७५ को तथ्यांकअनुसार जिल्लामा बहुऔषधि प्रतिरोध विरामी ७० जना छन् ।

जिल्लामा ६० वटा डट्स सेन्टर, १५ वटा प्रयोगशाला र दुई स्थानमा जिनस्पोर्ट सञ्चालनमा छन् भने नेपालगन्जमा टिबी नेपाल बाँकेले बहुऔषधी प्रतिरोध उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सरकारले क्षयरोगको उपचार पूर्णरुपमा निशुल्क गरेको छ ।

सरकारले सन् २०१६ देखि २०२१ सम्ममा नयाँ बिरामी पत्ता लगाउने र उपचार गर्ने रणनीति बनाएको छ । नेपालबाट सन् २०५० मा क्षयरोग निवारण गर्ने सरकारी तयारी छ । अझै करिव २२ प्रतिशत बिरामी निशुल्क उपचारको पहुँचमा पुगेका छैनन् । विश्व स्वास्थ्य संगठनका अनुसार, नेपालमा प्रतिवर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गर्दछन् ।

पुरानो र नयाँ गरेर ६० हजार क्षयरोगी निजी क्षेत्रबाट उपचार लिएको आशंका गरिएको छ । करिव १३ हजार नयाँ बिरामी सरकारको तथ्यांकमा छैन । जिल्ला स्वास्थ्य कार्यालय बाँँकेका स्वास्थ्य अधिकृत रामबहादुर चन्दले सम्पर्कमा नआएका बिरामीलाई उपचार पद्धतिमा ल्याउने अहिलेको चुनौती रहेको बताए ।

नियमित औषधि खाँदा क्षयरोग निको हुन्छ । नयाँ ९१ र पुरानोमा ८९ प्रतिशत निको हुने दर रहेको छ । क्षयरोग नियन्त्रणका लागि नेपालमा ४ हजार ३२३ वटा डट्स उपचार केन्द्र, ६०४ वटा प्रयोगशाला, ५६ वटा जीनस्पोर्ट केन्द्र र २ वटा राष्ट्रिय परीक्षण प्रयोगशाला रहेका छन् । बहुऔषधि प्रतिरोधी क्षयरोगका लागि २१ वटा उपचार केन्द्र र ८१ वटा उपकेन्द्र रहेका छन् ।

यसैबीच, विश्व क्षयरोग दिवसका अवसरमा टिबी नेपाल बाँकेको अस्पतालमा उपचाररत क्षयरोगीलाई फलफूल वितरण गरिएको छ । नेपालगन्ज–४ मा रहेको टिबी नेपाल बाँकेको अस्पतालमा रहेका बिरामीलाई बेडमै पुगेर फलफूल वितरण गरिएको हो । स्वास्थ्य कार्यालयको आयोजनामा बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

जिल्ला समन्वय समितिका सदस्य चेतबहादुर घर्ती, जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्द लगायतले क्षयरोगीलाई फलफूल वितरण गरेका थिए । ‘समय अबको : क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइएको छ । दिवसकै अवसरमा आज नै क्षयरोगसम्बन्धी अभिमुखीकरण भएको छ भने साँझ दीप प्रज्वलन गरिनेछ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतवार १३:३५