निर्माणको अन्तिम चरणमा रहेको रंगशालामा दुवो रोपिँदै । तस्वीर : आठौं राष्ट्रिय खेलकूद, प्रचारप्रसार उपसमिति
भेषराज बस्नेत । राँझा । प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिकरुपमा घोषणा नभए पनि खेल हुने स्थानको टुङ्गो लागेको छ । प्रतियोगितामा समावेश कूल ३८ खेलमध्ये १५ विधाका खेल बाँकेमा हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीले जानकारी दिए ।
उनका अनुसार १५ मध्ये १० खेल नेपालगन्जमा हुनेछन् । नेपालगन्जमा फुटबल, हेन्डबल, सुटिङ, भारोत्तोलन, स्विमिङ, तेक्वान्दो, टेबुलटेनिस, आर्चरी, पुरुष हक्की, चेस र जुडो प्रतियोगिता हुने भएको छ । बाँकेको कोहलपुरमा पुरुष क्रिकेट र साइक्लिङ खेल हुने भएको छ भने, खजुराको शुक्र माविमा महिला–पुरुष भलिबल र हक्की तथा ज्ञानोदय माविमा बक्सिङ प्रतियोगिता हुने पक्का भएको अध्यक्ष ओलीले बताए ।
उनले बर्दियाको गुलरियामा सेपाकटाक्रो, भुरीगाउँमा खो–खो र बाँसगढीमा महिला–पुरुष कबड्डी प्रतियोगिता हुने जानकारी दिए । कपिलवस्तुमा कुस्ती, दाङको घोराहीमा बास्केटबल, ब्याडमिन्टन, बेलझुण्डीमा एथलेटिक्स, महिला फुटबल, तुलसीपुरमा कराते र उसु खेल हुने प्रस्तावअनुसार काम भइरहेको छ । ओलीका अनुसार, रुपन्देहीको बुटवलमा लङटेनिस र शारीरिक सुगठन प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ ।
एक–दुई स्थानमा बाहेक अधिकांश प्रस्ताव गरिएको स्थानमा नै प्रतियोगिता हुने उनले बताए । यसैबीच, चैतको अन्तिम साता सम्पन्न गर्ने गरी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगन्जमा तयारीलाई तीव्र पारिएको छ । प्रतियोगिताको उद्घाटनस्थल नेपालगन्ज रङ्शालामा दुबो लगाउने र प्याराफिट निर्माणकार्य धमाधम भइरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष ओलीले जानकारी दिए ।
नेपालगन्ज रङ्गशालामा अहिले विशिष्ट पाहुना बस्ने प्याराफिट जडानको तयारी भइरहेको छ । चीनबाट भारतको कोलकता बन्दरगाह हुँदै आएको पाँच मालबाहक गाडी नेपालगन्ज भन्सार आइपुगेकाले अब छिट्टै जडानकार्य शुरु हुने अध्यक्ष वलीले बताए । विशिष्ट अतिथि प्याराफिटको सामान नआउँदा आठौँ राष्ट्रिय खेलकूदको औपचारिक मिति तोक्न ढिलाइ भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताउँदै आएका छन् । रासस
भेषराज बस्नेत - ।