सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा एसइईको कमाण्ड सम्हाल्दै पाँच शिक्षिका

बाँके । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बाँकेका पाँच महिला शिक्षिकाले पाँच वटा परीक्षा केन्द्रको कमाण्ड सम्हालेका छन् । भोलीदेखि सुरु हुने एसइई परीक्षा अन्तरगत पाँच वटा केन्द्रको कमाण्ड पाँच जना शिक्षिकाले सम्हालेका हुन् ।

एसइई परीक्षा अन्तरगत जिल्लाभर रहेका ३३ केन्द्रमध्ये पाँच जना महिलालाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको हो । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार, कोहलपुरको सगरमाथा ज्ञानपुञ्ज मावि केन्द्रमा गोमा चालिसे, त्रिभूवन मावि केन्द्रमा देवका थापा, खजुराको जनता मावि सन्तकुटी केन्द्रमा निर्मला गुरुङ्गलाई केन्द्राध्यक्ष तोकिएको छ ।

त्यस्तै नेपालगन्जस्थित एबिसी रेसिडेण्टल हाइस्कुल केन्द्रमा सशी स्वाँर र होप इन्टरनेशनल एकेडेमी केन्द्रमा केशवा रेग्मीलाई केन्द्राध्यक्ष तोकिएको छ । बाँकेमा पाँच जना शिक्षिकाले केन्द्राध्यक्षको जिम्मेवारी पाएको पहिलो पटक हो । केन्द्राध्यक्षको जिम्मेवारी पाएका शिक्षिकाहरुले एसइई परीक्षालाई मर्यादित र भयरहित वातावरणमा सञ्चालन गर्ने जनाएका छन् ।

यसअघि चारपटक केन्द्राध्यक्षको जिम्मेवारी सम्हालेकी सशी स्वाँरले महिलाले पनि सफलतापूर्वक जिम्मेवारी बहन गर्न सक्ने बताइन् । उनले भनिन्, ‘शान्त वातावरणमा मर्यादित र नमूना परीक्षा केन्द्रका रुपमा स्थापित गर्नेछौं । विद्यार्थीलाई शान्त वातावरणमा परीक्षा हलमा सहभागी गराउन हामीले आन्तरिक तयारी गरिसकेका छौं । यसमा सहायक केन्द्राध्यक्ष र निरिक्षकहरु पनि उत्तीकै सम्वेदनशील हुनुहुन्छ ।’

यसवर्ष बाँकेमा आठ हजार १७५ जना परिक्षार्थी एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बाँकेका निमित्त प्रमुख उद्धब श्रेष्ठले जानकारी दिए । जसअन्तरगत खुला विद्यालय तीन, प्राविधिक धारका पाँच विद्यालय, निजी विद्यालय ८० र सामुदायिक ८५ गरी कुल १६५ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् ।

श्रेष्ठका अनुसार ५ जना कैदीबन्दी पनि परिक्षामा सहभागी हुनेछन् । कैदीबन्दीका लागि सरस्वती मावि केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाइएको निमित्त प्रमुख श्रेष्ठले बताए । उनका अनुसार भोली विहानदेखि हुने एसइई परीक्षाको तयारी पुरा भइसकेको छ । प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय बाँकेमा सुरक्षासहित राखिएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार १२:४६