सूचनाको शक्ति - The Power Of Information

        

खाद्य संस्थानकै नापतौल उपकरण नक्कली !

जाजरकोट । नेपाल खाद्य संस्थान बारेकोट गाउँपालिकामा घाट डिपोमा प्रयोग भएका सामग्री नै नक्कली भएको पाइएको छ । डिपो कार्यालय घाटको अभिलेख रजिष्टरमा हेर्दा ३५ प्रकारका सामग्री रहेको अभिलेखिकरण गरिएको छ । नाप, तौल गुणस्तर विभाग कार्यालयले प्रमाणित नगरेका काठबाट निर्माण गरीएका तराजु प्रयोग भएको पाइएको छ ।

ढुङ्गाबाट निर्माण गरिएका ढकहरु प्रयोग भएको पाइएको छ । कार्यालयमा रहेको अभिलेखभन्दा फरक तरिकाले घाट डिपोमा काम हुँदै आएको छ । काठ तथा ढुङगाबाट बनेका सामग्रीबाट दैनिक नापतौल गरेर खाद्यान्न बिक्री, वितरण गरी उपभोक्ता ठग्ने काम हुँदै आएको पाइएको छ ।

नायकबाडा घाट डिपोमा दुई वर्षअघि खरिद गरि गरी अभिलेखमा पुगेका भनिएका सामग्रीहरु कहाँ छन् भनि सोधिएको प्रश्नमा नेपाल खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले भने, ‘घाट कार्यालयमा होलान् नि ?’ कार्यालयमा नभेटेर प्रश्न गरेको भन्ने जिज्ञासामा उनले भने, ‘बाटोमा जाँदै होला उसो भए ।’

दुई वर्षअघि खरिद गरिएको दैनिक प्रयोगमा आउने नाप, तौलका सामग्रीहरु बीचबाटोमै लथालिङक हुँदासम्म ध्यान नदिने गैरजिम्मेवारी कार्यालयप्रति बारेकोटबासी आक्रोशित भएका छन् । विसं २०५१ सालमा स्थापना भएको संस्थानको घाट डिपो विसं २०५२ सालदेखि २०६७ सम्म खाद्य व्यवस्थापन समितिद्धारा संचालनमा रहेको थियो ।

सो समयमा खरिद गरिएका सामग्रीहरु पनि कार्यालयमा भेटिएका छैन्न् । विसं २०६७ देखि नायकबाडाको घाट खाद्य डिपो नेपाल खाद्य संस्थानका वरिष्ठ सहायक कर्मचारीबाट सञ्चालन हुँदै आएको छ । तत्कालिन नायकबाडा गाउँ विकास समितिको सहयोगमा घाट खाद्य डिपोको भवन निर्माण गरिएको थियो ।

जिर्ण अवस्थामा रहेको भवनमा चामल राख्न समस्य हुँदाहुँदै पनि सोही ठाउँमा चामल राख्न बाध्य भएको घाट डिपोका प्रमुख रुद्र देवकोटाले जानकारी दिए । भवनको छानो मर्मतका लागि गत वर्ष बारेकोट गाउँपालिकाले रु.२ लाख बजेट विनियोजन गरेको भए पनि काम नै नगरेपछि उक्त बजेट फ्रिज भएको थियो ।

अहिले खाद्य डिपो भवनको छाना मर्मत गर्ने भनेर नेपाल खाद्य संस्थानले रु.१ लाख ५० हजारको अख्तियारी दिएको छ तर, अन्तिम चौमासिक लागि सक्दापनि कामको सुरुवात भएको छैन् । खाद्य डिपोको नाममा आउने बार्षिक झण्डै ६० हजार बराबरको बजेट पनि नेपाल खाद्य संस्थान शाखा कार्यालय जाजरकोट आफैले चलाउने गरेको देवकोटाले गुनासो गरे ।

डिपो कार्यालयको छाना मर्मतको लागि बारेकोट गाउँपालिकाले रु.२ लाख बिनियोजन गरेको आफुलाई जानकारी नभएको र आर्थिक वर्षको असार मसान्तमा मात्र आफुलाई जानकारी भएको शाखा कार्यालय प्रमुख बस्नेतले बताए । चालु आर्थिक बर्षमा घाँट खाद्य डिपोको छाना मर्मतका लागि संस्थानबाट अख्तियारी प्राप्त १ लाख ५० हजारको काम गर्नको लागि यहाँबाट प्राविधिक स्टीमेट बनाएर प्रधान कार्यालयबाट स्वीकृत भएपछि मात्र काम सुरुवात हुने प्रमुख बस्नेतको भनाई रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १८:००