बाँके । नेपालगन्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका अत्याधुनिक (डिजिटल) बस बिसौनीले यहाँको सौन्दर्य बढाएको छ । रु सात करोडको लागतमा नेपालगन्जको राँझा चोकदेखि ट्राफिक चोकसम्म सुर्खेत रोडका २१ स्थानमा अत्याधुनिक बस बिसौनी निर्माण भएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले डिजिटल बस बिसौनीले नगरको सौन्दर्यतासँगै यातायात व्यवस्थापन र यात्रुलाई समेत सहजता भएको बताए । ‘नगर बसले जहाँ मन लाग्यो त्यही रोकेर यात्रु झार्ने र चढाउने काम गर्दै आएका थिए, अब त्यसो हुँदैन,’ श्रेष्ठले भने, ‘अब यात्रु बिसौनीमा बस पर्खिनेछन् र त्यहीबाट चढ्ने र झर्ने गर्दछन् ।’
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बिपी चोक, धम्बोझी चोक, गणेशमानचोक लगायतका मुख्यमुख्य स्थानमा अत्याधुनिक बस बिसौनी निर्माण भइसकेको र अन्य बाँकी स्थानमा समेत निर्माण कार्य भइरहेको जानकारी दिए । उनका अनुसार, निजी क्षेत्रको एपेक्स नेपाल प्रालिले निर्माण शुरु गरेको बस बिसौनी तथा ट्राफिक बुथको काम दुई हप्ताभित्रै सकिने योजना रहेको छ ।
यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले एपेक्स नेपाल प्रालिसँग १० वर्षका लागि वार्षिक रु १५ लाख २६ हजार ३०० मा सम्झौता गरेको छ । निर्माण कार्यको सम्पूर्ण खर्च एपेक्सकै रहने र त्योवापत एपेक्सले बस बिसौनीमा विज्ञापन गर्न पाउनेछ । एपेक्स नेपाल प्रालिका निर्देशक कृष्णप्रसाद आचार्यले अत्याधुनिक बस बिसौनीमा विभिन्न प्रचार सामग्री सुन्दर किसिमले राखिने र यात्रुका लागि घामपानीमा ओत लाग्ने स्थानकोसमेत व्यवस्था गरिएको छ ।
उनका अनुसार, नगरलाई सुन्दर बनाउन र ऊर्जा बचतका लागि सोलारको व्यवस्था गरेर रातिमा बत्ती बल्ने अत्याधुनिक बस बिसौनी बन्दैछन्, यसले शहरलाई सुन्दर बनाउँछ । नेपालगन्जको सौन्दर्यमा यसले शोभा बढाउनेछ । डिजिटल बस बिसौनी निर्माण कार्य हेर्दै गरेका स्थानीय तथा बटुवासमेत निकै खुशी छन् । रातिमा समेत सोलारमार्फत बत्ती बल्ने डिजिटल बस बिसौनी नेपालगन्जमा पनि देख्दा वातावरण अधिकारकर्मी तेजविक्रम शाह दङ्ग छन् ।
‘हेर्दासमेत आकर्षक देखिने डिजिटल बस बिसौनीले नेपालगन्जको सुन्दरता बढाएको छ,’ शाहले भने, ‘यो सुन्दरताका साथै शहरका लागि वातावरणमैत्रीसमेत रहेको छ ।’ एपेक्स नेपाल प्रालिले नेपालगञ्जमा डिजिटल बस बिसौनीसँगै १० स्थानमा ट्राफिक कक्ष निर्माण कार्यसमेत शुरु गरेको छ ।
सत्यपाटी - ।