सूचनाको शक्ति - The Power Of Information

        

सीमा क्षेत्रमा निगरानी गर्ने एक्सरे मेशिन अलपत्र, ठाउँ खोज्दै एकबर्ष वित्यो

बाँके । नेपालगन्ज भन्सार कार्यालयमा सीमाक्षेत्रमा निगरानी राख्न सहयोगी हुने दुई वटा एक्सरे मेशिन एक वर्षदेखि गोदामै थन्किएका छन् । नेपाल प्रवेश गर्ने बिन्दुमा सर्वसाधारण आवातजावत गर्दा ल्याउने/लैजाने हरेक सामानको जाँच गर्ने मेशिन प्रयोगबिहिन भएका हुन् ।

एउटा वाकथ्रु गेट छ भने अर्को लगेज जाँच्ने मेशिन छ । दुबै मेशिन करोड बढि मुल्यको रहेको भन्सार कर्मचारीहरुले बताएका छन् । ती मेशिनहरु एक वर्षअघि नेपालगन्ज ल्याइएका थिए । यस्तै प्रकारको मेशिन बिराटनगर पनि पठाइएको र त्यहाँ पनि प्रयोग नभएको कर्मचारीहरुको भनाई छ ।

नेपालगन्ज नाका हुँदै अहिले जो–कोहीले चाहेमा जस्तोसुकै सामान लयाउन सक्छन् । त्यसलाई रोक्न प्रहरी, प्रशासन र स्वयं भन्सारका लागि उपयोगी हुने मेशिन भने त्यस्तै थन्किएको छ । भन्सारले मेशिन राख्ने उपयुक्त ठाउँ खोज्दा खोज्दै एकवर्ष बितेको दाबी गरेको छ । नेपाल प्रवेश गर्ने गेट नजिक सबैभन्दा उपयुक्त हुने भए पनि त्यहाँ मन्दिरका सटरहरु छन् ।

उक्त सटरमा मेशिन राख्न उपयुक्त हुने भएपनि मन्दिर सञ्चालक गुठीले भन्सारलाई सटर दिन आनाकानी गरेको छ । त्यस्तै भन्सारकै तल्लो क्षेत्रको बिन्दुमा अब मेशिन राख्ने तयारी भइरहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । उनले आफु आउनुअघि नै उक्त मेशिन आएको र जतिसक्यो छिटो मेशिन जडान गर्ने जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १२:५५