बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकिएका पेट्रोलियम पदार्थ बोकेका १४० ट्यांकर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्यांकरसँगै फलफुल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए ।
नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरु भारतीय भन्सारमा अनलाइन सेवा सुचारु भएपछि बिहीबार राती नेपाल भित्रिएका हुन् । भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा समस्या हुँदै आएको उनले बताए ।
भारतको बहराइच नजिकै अप्टिकल फाइबरमा समस्या आएर अनलाइन दर्ता नभएपछि ट्यांकरसँगै अन्य मालबाहक ट्रकहरु रुपैडिहामै रोकिएका थिए । १० लाख रुपैयाँभन्दा बढी इनभ्वाइसको सामानलाई भन्सार क्लियर गराउन भारतीय भन्सारका डेपुटी कमिसनरको अनुमति लिनुपर्छ ।
गएराती मात्रै इन्धन आयात नभएको भए नेपालगन्ज आसपासको क्षेत्रमा इन्धन अभाव हुनसक्ने देखिएको थियो । नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जका प्रमुख अभिशेख कुमार ठाकुरले सबै ट्यांकर नेपाल भित्रिएकोले इन्धन अभाव नहुने बताए ।
यो क्षेत्रमा निगमले डिजेल र पेट्रोल गोन्डाबाट, एटीएफ इलहाबाद र एलपी ग्यास मथुराबाट आयात गर्दै आएको छ । डिपो प्रमूख ठाकुरका अनुसार निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण क्षमता छ ।
सत्यपाटी - ।