सूचनाको शक्ति - The Power Of Information

        

भारतीय भन्सारले रुपैडिहामा किन रोक्यो १४० पेट्रोलियम ट्यांकर ?

बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० ट्यांकर रुपैडिया नाकामा रोकिएका छन् । अनलाइनमा समस्या आएको भन्दै ट्यांकरसँगै फलफुल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिए ।

उनले फलफुल र तरकारी गाडीहरु कागजी प्रक्रिया मिलाएर छोड्ने सहमति भए पनि पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भने अनलाइन सेवा सुचारु नभएसम्म नेपाल आउने सम्भावना नरहेको बताए । उनले भने, ‘हामीले हिजोदेखि भारतीय भन्सारसँग समन्वय गरिरहेका छौं । सर्भरमा समस्या देखिएकोले बनाइरहेको जानकारी पाइरहेका छौं ।’ भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा अवरोध गर्दै आएको उनले बताए ।

उनका अनुसार भारतीय भन्सारका कर्मचारीहरुले बहराइच नजिकै अप्टिकल फाइबरमा समस्या आएको बताएका छन् । ‘नेपाली भन्सारले भारतीय भन्सारमा समस्याबारे बुझ्दा अप्टिकल फाइबरमा समस्या आएको बताइरहेको छ,’ भन्सार अधिकृत केसीले भने, ‘भारतीय भन्सारमा अनलाइन प्रविधि सुरु भएपछि पेट्रोलियम ट्यांकरलाई नेपाल प्रवेश गराउँदा विभिन्न बहाना झेल्नुपर्छ ।’ १० लाख रुपैयाँभन्दा बढी इनभ्वाइसको सामानलाई भन्सार क्लियर गराउन भन्सारका डेपुटी कमिसनरको अनुमति लिनुपर्ने बाध्यता भारतीय कर्मचारीहरुले देखाएका छन् ।

भन्सारका डेपुटी कमिसनरको कार्यालय लखनउमा भएका कारण अनुमति लिन समस्या भइरहेको र कागजी प्रक्रियाबाट ट्यांकल छोड्कै लागि पनि समय लाग्ने भारतीय भन्सारका कर्मचारीहरुले बताएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत केसीले बताए । ‘अनलाइन सेवा सूचारु नभए कागजी प्रक्रिया पु¥याएरै भए पनि भित्र्याउन मानिरहेको छैन,’ केसीले भन्नुभयो, ‘हामीलाई माथिको आदेश चाहिन्छ भन्दै रोकिरहेको छ ।’

पेट्रोलियम पदार्थ बोकेर आएका गाडी भारतीय भन्सारले अनलाइनमा समस्या देखिएको भन्दै रोकेपछि नेपालगन्ज आसपासको क्षेत्रमा इन्धन अभाव हुनसक्ने देखिएको छ । पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भित्र्याउन पहल भइरहेको जानकारी दिँदै नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जका प्रमुख अभिशेख कुमार ठाकुरले भने, ‘ट्यांकर नेपाल भित्र्याउन हामीले निरन्तर पहल गरिरहेका छौं ।’

यो क्षेत्रमा निगमले डिजेल र पेट्रोल गोन्डाबाट, एटीएफ इलहाबाद र एलपी ग्यास मथुराबाट आयात गर्दै आएको छ । ठाकुरले भने, ‘पेट्रोलियम पदार्थको माग अत्यधिक छ । आज साँझसम्म अनलाइन सेवा सुचारु नभए इन्धन वितरणमा समस्या हुन नदिन हामी लागिरहेका छौं ।’ उनका अनुसार निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण छ । ट्यांकर भित्र्याउन वैकल्पिक उपायका बारेमा छलफल भइरहेको भन्दै प्रमूख ठाकुरले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार १०:५९