सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा दर्ता हतियार खोज्दै प्रशासन

आफुसँग भएको हतियार नजिकको प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा बुझाउन सकिने प्रशासनले जनाएको छ ।

बाँके । जिल्लास्थित सुरक्षा निकायले अवैध हतियारबारे पटकपटक सोधखोज गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले हतियार राख्न इजाजत लिएका व्यक्तिसँग सोधखोज गर्दै पटकपटक नवीरकणका लागि सूचना जारी गर्दै आएको छ । बाँकेमा हालसम्म दर्ता भएका विभिन्न थरिका कुल ७९८ थान हतियारमध्ये ६०३ नवीकरण भएका छन् ।

जसमध्ये अझै १९५ थान नवीकरण हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इजाजत लिएकामध्ये १९५ थान हतियार कहाँ र कुन अवस्थामा छन् भन्नेबारे सोधखोज भइरहेको प्रशासनले जनाएको छ । ‘ती हतियारका धनीहरुलाई नवीकरणका लागि ३५ दिने सूचना जारी गरिसकेका छौं,’ बाँकेका प्रमूख जिल्ला अधिकारी मदन भुजेलले भने ।

चैत १ गतेदेखि ३५ दिनभित्र अवैधरूपमा हतियार बुझाउन अपिल गर्दै प्रशासनले समयभित्र बुझाउनेलाई कुनै कारवाही नहुने स्पष्ट पारेको छ । कानुनबमोजिम लिनुपर्ने इजाजत नलिई वा इजाजत पत्र नवीकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले नेपाल राज्यभित्र कोही कसैले हतियार वा खरखजाना राखेको भए तोकिएको समयमा बुझाउन प्रशासनले भनेको छ ।

आफुसँग भएको हतियार नजिकको प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा बुझाउन सकिने प्रशासनले जनाएको छ । इजाजतसहितका हतियारबारे सम्बन्धित व्यक्तिलाई सूचित गरेर सोधखोज भइरहेको प्रजिअ भुजेलले बताए । ‘हतियार बेच्नुपरे प्रशासनमै आउनुपर्छ । त्यसैले पनि व्यक्तिसँगै छ भन्ने हो,’ उनले भने, ‘नवीकरण नभएका हतियारबारे सोधखोज गरिरहेका छौं । हतियार धनी नवीकरणका लागि आउनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

उनले बाँके जिल्लामा दर्ता भएका हतियार बाहिरी जिल्लाबाट पनि नवीकरण गर्न सकिने भएकोले यहाँबाट नवीकरण नभएको हुनसक्ने बताए । ‘भरुवा बन्दुक स्थानीय तहबाट नवीकरण हुने र जिल्ला बाहिरबाट पनि नवीकरण गर्न सकिने व्यवस्था छ । यहाँबाट नवीकरण नगरेर अन्य जिल्लाबाट पनि गरेको हुन सक्छ, त्यस विषयमा पनि हामीले बुझिरहेका छौं,’ प्रजिअ भुजेलले भने ।

‘हातहतियार र खरखजाना बुझाउन ल्याएमा यसअघि अवैध हातहतियार र खरखजाना राखेको कारणले मात्र त्यस्ता व्यक्तिलाई कुनै किसिमको कारवाही गरिने छैन,’ प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । तोकिएको समयमा पनि नवीकरण नगरेर अवैध हातहतियार राखेको पाइएमा कानुन बमोजिम कारवाही हुने प्रशासनले स्पष्ट पारेको छ । खुला सिमासँग जोडिएको बाँकेमा सुरक्षाका लागि भन्दै सामान्य भरुवादेखि आधुनिक किसिमका बन्दुकसम्म दर्ता छन् ।

नियमअनुसार हतियार राख्नेले आर्थिक वर्ष सकिएको ३५ दिनभित्रमा हतियारको नवीकरण गराउनुपर्छ । बढीमा दुई वर्षसम्मका लागि अग्रिम नवीकरण गराउन पाउने कानुनी व्यवस्था छ । हतियार नवीकरण नियमित गर्न सम्बन्धित व्यक्तिहरूलाई सूचित गरिएको प्रजिअ भुजेलले बताए । नियमित नवीकरण नभएका हतियारको जरिवाना चर्को लाग्ने भएकाले धेरैले नवीकरण गर्न छाडेको हुनसक्ने प्रशासनले जनाएको छ ।

बन्दुकको प्रकार र इजाजतको किसिमले बन्दुकको नवीकरण र जरिवाना रकम निर्धारण हुन्छ । लामो समयदेखि नवीकरण नगरी राखिएको हतियार अवैध हुने प्रजिअ भुजेलको भनाइ छ । उनले भने, ‘हामीले पटकपटक नवीकरणका लागि सूचित गरिरहेका छौं, कसैसँग नवीकरण नगरिएको हतियार भेटिएमा हातहतियार खरखजाना ऐनअनुसार कारबाही गर्छौ ।’ उनले हतियार धनीहरुलाई तोकिएको समयभित्र हतियार बुझाउनसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १३:०१