
बाँके । बाँके लगायत देशभर आजदेखि खुला दुध विक्री गर्न प्रतिबन्ध लागेको छ । संघीय सरकारद्वारा जारी दुग्ध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवम गुणस्तर सम्बन्धित निर्देशिका–२०७५ लागु भएसँगै खुला दुध विक्री गर्न प्रतिबन्ध लागेको हो । निर्देशिकाले खुला दुध तथा दुग्धजन्य पदार्थ विक्री विरतण गर्न निषेध गरेको छ ।
निर्देशिका अनुसार प्रशोधन, प्याकेजिङ्ग गरी उत्पादन मिति, ब्याच नम्बर, प्रयोग गर्ने मिति र मुल्य उल्लेख भएको हुनुपर्नेछ । जिल्ला दुग्ध व्यवसायी संघ बाँकेले निर्देशिका लागु हुनु स्वागतयोग्य भएको भन्दै कडारुपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
संघका बाँके अध्यक्ष बदरुद्दिन अन्सारीले आमउपभोक्तालाई स्वच्छ तथा सफा दुध उपलब्ध गराउने आफुहरुको प्रतिबद्धता रहेको बताउँदै बजारमा प्लाष्टिकको जार, क्यान तथा प्रतिबन्धित भाँडामा ओसारपसार र घरघरमा पुगेर खुलारुपमा विक्री वितरण गर्ने कार्यलाई निरुत्साहित गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
निर्देशिका लागु भएसँगै खुला दुध बिक्री गर्न नपाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले जनाएको छ । कार्यालय प्रमुख ज्योत्सना श्रेष्ठले किसानदेखि व्यवसायमा संलग्नसम्मका लागि निर्देशिकाले मापदण्ड तय गरेको जानकारी दिइन् । ‘निर्देशिका पालना नभएको पाइएमा व्यवसायमा रोक लगाउँछौं,’ उन्ले भनिन् ।
कार्यालय प्रमूख श्रेष्ठले दुध तथा दुग्धजन्य पदार्थका व्यवसायीले निर्खेशिकाको पालनासँगै तथा निधारित ढाँचामा अभिलेखिकरण गर्नुपर्ने व्यवस्था गरिएको बताउँदै भनिन्, ‘मापदण्ड पूरा गर्नुमात्र नभई त्यसको पूर्ण अभिलेखिकरण पनि गर्नुपर्नेछ ।’
निर्देशिकामा दुग्ध उत्पादनका लागि दुधमा स्वच्छता एवम् गुणस्तर कायम राख्न स्वस्थ जनावर हुनुपर्ने, दुध दुहुने व्यक्तिले व्यक्तिगत सरसफाईमा पूर्ण ध्यान दिनुपर्ने, दुध दुहुन अघि साबुन पानीले हात धुनुपर्ने, पशु राख्ने गोठ सफासुग्घर राख्नुपर्ने, दुध दुहुने भाडो सफा राख्नुपर्ने उल्लेख गरिएको छ ।
निर्देशिकामा दुध संकलन, चिस्यान केन्द्र, डेरी उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार, डेरी पसलले अपनाउनु पर्ने, दुध प्रशोधनमा अपनाउनुपर्ने विधि, प्रक्रिया लगायतका बारेमा पनि उल्लेख छ । कृषक, उद्यमी, डेरी सञ्चालकले दुधको गुणस्तर बिग्रिन नदिन निर्देशिकाको पूर्ण पालना गर्नुपर्नेछ । किसानहरुले भने त्यसमा असन्तुष्टि पनि जनाएका छन् ।
सत्यपाटी - ।