सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश–५ का ५२ गाउँ ‘स्मार्ट कृषि गाउँ’

बुटवल । कृषि उत्पादनमा सहयोग पुर्याउन प्रदेश ५ सरकारले अगाडि सारेको ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रमका लागि प्रदेशका ५२ वटा गाउँ छनौट गरेको छ । प्रदेश सांसदहरुको सिफारिसमा प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यहाँका १२ जिल्लाका ५२ वटा गाउँ आवश्यक अध्ययनपछि छनौट गरेको हो ।

प्रदेश सरकारले बनाएको मापदण्डमा एउटा गाउँमा कम्तीमा ५० घर हुनुपर्ने, तराईमा ५० विगाहा तथा पहाडमा २५० रोपनी जग्गा हुनुपर्ने गरी मापदण्ड बनाइएको र ती मापदण्ड पुरा भएका गाउँहरु छनौट भएको वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले बताए । छनौट भएका गाउँमा बढीमा २ वटा बाली तथा वस्तु (पशुपालन)लाई प्राथमिकतामा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

पशुपालन गरेपनि दुईथरि र खेती गर्ने हो भने पनि २ वटा बालीलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने मापदण्ड रहेको छ । ‘स्मार्ट कृषि गाउँ’का लागि एउटा गाउँलाई ५० लाख बजेट उपलब्ध गराउने गरी ५२ वटा गाउँका लागि प्रदेश सरकारले २६ करोड बजेट छुट्टाएको छ । छनौट भएका गाउँका किसानलाई प्रदेश सरकारले ५० लाख उपलब्ध गराउने र सो बजेटमा किसानहरुले थप १० लाख लगानी गरेर कृषि गर्न सक्ने व्यवस्था गरिएको छ ।

छनौट भएका गाउँहरुमा १० लाख थप गरेर कार्यक्रम बनाउन किसानहरु योजना निर्माणमा व्यस्त रहेका छन् । यस वर्षका लागि २६ करोड बजेट छुट्टाएको प्रदेश सरकारले यो कार्यक्रम आगामी चार वर्षसम्म निरन्तरता दिने बताएको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम रुपन्देहीको देवदह नगरपालिकाबाट शुभारम्भ गरिएको थियो । हाल छनौट भएका गाउँहरुमा यो कार्यक्रम शुरु गर्न आवश्यक योजना निर्माणमा किसानहरु जुटेको वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले बताए ।

‘स्मार्ट कृषि गाउँ’ छनौटमा परेका गाउँहरु

अर्घाखाँची – मालारानी गाउँपालिका–७ बामरुक र पाणिनी गाउँपालिका–६, धातिवाङ
गुल्मी – सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेक, रेसुङ्गा नगरपालिका–११ राङ्गबास, इस्मा गाउँपालिका–२ छल्दी र धूर्कोट गाउँपालिका–६ किमुखर्क, कमेरेपानी, लाहाटा, बेलटारी
पाल्पा – रामपुर नगरपालिका–१० हेकलाङ, रम्भा गाउँपालिका–१ हुंगी, तानसेन नगरपालिका–१४ अर्गली र तिनाउ गाउँपालिका २ झ्याङला दोभान
प्यूठान – सरुमारानी गाउँपालिका–१ ओङलेनि र प्यूठान गाउँपालिका–९, मरन्ठाना, बुढादेवी
दाङ – गढवा गाउँपालिका–२ घुस्रा, लमही नगरपालिका–९ हर्दवा, बंगलाचुली गाउँपालिका–६ रिभानटोल, घोराही उपमहानगरपालिका–८ र १० स्यानीगाँउ धोवघाट पोखरी क्षेत्र, तुलसीपुर उपमहानगरपालिका–१४ लुहाडवरा मटेरा र शान्तिनगर नगरपालिका–७, वुढाडावर दुविचौर
रोल्पा – सुनिलस्मृति गाउँपालिका १ घोडागाउँ र गंगादिप गाउँपालिका–२ र ३, जिनावाङ्
पूर्वी रुकुम – भुमे गाउँपालिका–१ लुकुम र सिस्ने गाउँपालिका–७ र ८, स्यालापाखा, भिमखोला, लम्थाकोट
बाँके – राप्तीसोनारी गाउँपालिका–७, फत्तेपुर (सर्री), कोहलपुर नगरपालिका–१३, खड्कवार, डुडुवा गाउँपालिका–३ हलबलडोली र हलकारा पुरुवा, नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुर, करमोहना, वैजनाथ गाउँपालिका–४ तिलकपुर नउलापुर, खजुरा गाउँपालिका–२ सितापुर
बर्दिया – बढैयाताल गाउँपालिका–७ वकोटिया दाङ्पुर, गुलरिया नगरपालिका–४ तुल्सीपुर, मधुवन नगरपालिका–८, शिवनगर र राजापुर नगरपालिका–५, मुखियाजयपुर
रुपन्देही – देवदह नगरपालिका–९, घोडाहा बुद्धनगर, ओमसतिया गाउँपालिका ५, तरैनी, तिलोत्तमा ६, पौनी, सैनामैना न.पा. ३, गंगानगर र पूर्वी गंगानगर टोल, तिलोत्तमा १४, मंगलपुर, सियारी गाउँपालिका–१ र ३ भगदरी, सितापुर र लक्ष्मीपुर, मर्चवारी गाउँपालिका–१, हरिनगाडे, मर्चावारी गाउँपालिका–६, बगौली, सैनामैना नगरपालिका–११, सालझन्डी र लुम्बिनी सांस्कृतिक नगरपालिका–९, सुनबर्षा
नवलपरासी पश्चिम – बर्दघाट नगरपालिका–१३, धनेवा, प्रतापपुर गाउँपालिका–८, पिपरपाती, सरवाल गाउँपालिका–२, मगरमुढा, पटखौली, अत्रहरी, र रामग्राम नगरपालिका–१५, सुक्रौली
कपिलवस्तु – वाणगंगा नगरपालिका–९, जिनुवा, ब्रदह्वा, मायादेवी ७, लालपुर बनकसिहा, महाराजगन्ज नगरपालिका–१०, हर्दौना, यशोधरा गाउँपालिका–७, सुल्तनवापुर, शिवराज नगरपालिका–१, उमरी, र विजयनगर गाउँपालिका–५, मौजाद कटुवा

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार ११:४१