सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा अझै ६ हजार निरक्षर, केही वडा साक्षरता घोषणा तयारीमा

बाँके । बाँकेको खजुरामा अझै पनि ६ हजार १५१ बढी नागरिक निरक्षर रहेको एक तथ्याकंले देखाएको छ । खजुरा गाउँपालिकाले शुरू गरेको गाउँपालिका साक्षर अभियानका क्रममा संकलित तथ्यांकअनुसार यतिको निरक्षर संख्या भेटिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

उनकाअनुसार चैत्र महिनाभित्र गाउँपालिकामा रहेका सबै नागरिकलाई साक्षर बनाउने उद्देश्यअनुरूप गाउँपालिकाले साक्षर अभियान शुरू गरिसकेको छ । अहिलेसम्म गाउँपालिका अन्तरगत वडा नं. १ साक्षर घोषणा भइसकेको छ । वडा नं. २, ३ र ४ साक्षर घोषणाको अन्तिम तयारीमा छन् ।

अध्यक्ष कक्षपतिका अनुसार वडा नं. ३ मा २५४, वडा नं. ४ मा १८५, वडा नं. ५ मा १ हजार ८०९ वडा नं. ६ मा १ हजार १८१, वडा नं. ७ मा १ हजार ६६४ र वडा नं. ८ मा १ हजार ५८ जना अझै निरक्षर रहेका छन् ।

गाउँपालिकालाई साक्षर बनाउन गाउँपालिकाले पाँच लाख विनियोजन गरेको बताउँदै अध्यक्ष कक्षपतिले भने, ‘प्रदेशसँग पनि केही रकम माग गरेका छौं । प्रदेशले ३ लाख रुपैयाँ जति दिन्छ होेला ।’ उनकाअनुसार खजुरा गाउँपालिकामा पछिल्लो तथ्यांक हेर्दा ६१ हजार जनसंख्या रहेको छ ।

गाउँपालिका निरक्षर जनतालाई शिक्षाको पहुँच तथा विद्यालय बाहिरका बालबालिकालाई विद्यालयमा ल्याउने कार्यक्रमले निरन्तरता पाउनुपर्ने अध्यक्ष कक्षपतिको भनाई छ । नेपालमा १५ देखि ६० वर्ष उमेर समूहका ८० प्रतिशत साक्षर रहेको तथ्यांक छ । ०६५ देखि राष्ट्रिय साक्षरता अभियान सुरु भएको थियो ।

शुरूदेखि अहिलेसम्म साक्षर अभियानकै नाममा बाँकेमा मात्रै करोडौं रकम खर्च भइसकेको छ । जिल्ला वा गाउँपालिका तहमा १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत साक्षर भएमा पूर्ण साक्षर जिल्ला/पालिका/वडा घोषणा गर्नसक्ने व्यवस्था छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार ११:१७