सूचनाको शक्ति - The Power Of Information

        

परिक्षणका रुपमा सुर्खेत रोड सरसफाई कार्यक्रम सञ्चालन

बाँके । नेपालगन्जको मुख्य सडक सुर्खेत रोड सरसफाई कार्यक्रम सञ्चालन गरिदैछ । नमूना कार्यक्रमका रुपमा नेपालगन्ज उपमहानगरपालिकाले पहिलो अभ्यास गर्न लागेको हो । सुर्खेत रोड सरसफाईका लागि चार वटा संस्थालाई ५ वटा रुट (क्षेत्र) निर्धारण गरेर जिम्मेवारी समेत दिइएको छ । परिक्षणका रुपमा अहिलेलाई एक महिनाको लागि मात्र जिम्मेवारी दिइएको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

तोकिएका संस्थाहरुले भन्सार गेटदेखि मनिकापुर चौक सम्मको सम्पूर्ण सरसफाई गर्नेछन् । भन्सार गेटदेखि चौलिकासम्म, चौलिकादेखि गणेशमान चौकसम्म क्लीनर्स कन्सर्न सर्भिस, गणेशमान चोकदेखि विरेन्द्र चोकसम्म बातावरण तथा बालअधिकार संरक्षण केन्द्र (इन्प्रोक) विरेन्द्रचोकदेखि कारकाँदो चोकसम्म सामुदायिक सशक्तिकरणका लागि साझा प्रयास (केश) र कारकाँदो चौकदेखि मनिकापुर चोकसम्म नेपाल उत्पीडित उत्थान विकास समाजलाई सरसफाइको जिम्मेवारी दिइएको हो ।

यसअघि नै स्वच्छ नेपाल हाम्रो अभियान नामक संस्थाले धम्वोझी चौकदेखि नन्दनी मिलसम्मको सरसफाई गरिरहेको छ । ३ महिने सो अभियान सफल भएको वडा न १ का अध्यक्ष समेत रहेका प्रवक्ता रिजालले बताए । उपमहानगरपालिकाको सहयोग र सहमती अनुसार ति संस्थाहरुले एउटा फुटपातदेखि अर्को साइडको फुटपात सम्मको सम्पूर्ण फोहर संकलन, विसर्जन गर्नुपर्ने छ ।

सम्वद्ध वडा अध्यक्ष, सरोकारवाला व्यक्तिसँगको आयोजित वैठकमा सरसफाईको प्रभावकारितालाई मध्यनजर गरेर त्यसको निरन्तरता गर्न सकिने भएकाले सो अनुसार कार्य बढाउन नगर प्रमुख डा धवलशम्शेर राणाले निर्देशन दिए । वैठकमा वडा अध्यक्षहरुले जिज्ञाशासँगै सुझाव पनि दिएका थिए । वातावरण इन्जिनियर प्रकाश डिसीले ताकिएको स्थानमा फोहर जम्मा गरिदिन नगरवासीमा अपील गरे ।

सार्वजनिक नीजि साझेदारी हुने गरि नमूनाका रुपमा नगरका विभिन्न भागमा सरसफाई बढाइने उपमहानगरपालिकाले जनाएको छ । नगरको फोहर वयवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका–२३ मा निर्माणाधिन ल्याण्डफिल्ड साइट ०७६ वैशाखसम्म सञ्चालन आउने भएको छ । दैनिक २५ देखि ३० टनसम्म जम्मा हुने नगरको फोहर ल्याण्डफिल्ड साइटमै भण्डारण गर्न सकिनेछ । ल्याण्डफिल्ड साइट सञ्चालनमा आए दिर्घकालिनरुपमै फोहरमैलाको व्यवस्थापन गर्न सहज हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार ०७:२३