बाँके । नेपालगन्जलाई नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगन्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकताका साथ निर्माण कार्य अघि बढाएको जनाएको छ । नगरका अधिकांश भागमा सडक, ढल, नाला लगायतका पूर्वाधार निर्माण कार्य तिव्ररुपमा अघि बढाइरहेको छ ।
नगर प्रमुख डा.धवलशम्शेर राणाले नगरमा थुप्रै विकास निर्माण योजनाका काम जारी रहेको जनाउँदै विकासमा जनप्रतिनीधी, कर्मचारी र स्थानीय जनताबीचको सहकार्य पनि सौहार्द रहेको बताएका छन् । नगरको फोहर व्यवस्थापन र सरसफाईलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गर्दैै नेपालगन्ज–२३ मा निर्माणाधिन ल्याण्डफिल्ड साइट ०७६ वैशाखसम्म सञ्चालनमा आउने उनले बताए ।
दैनिक २५ देखि ३० टनसम्म जम्मा हुने नगरको फोहर ल्याण्डफिल्ड साइटमै भण्डारण गर्न सकिनेसमेत छ । यस्तै उपमहानगरपालिकाले वडा न २१ मा खुला काञ्जी हाउस निर्माण गरेर १२३ वटा पशुलाई आश्रय दिइसकेको छ । सोही क्षेत्रमा गौशाला निर्माणको प्रक्रिया पनि बढाइने उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले नेपालगन्ज–४ स्थित साढे चार बिघामा अत्याधुनिक बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुर्याएको, नेपालगन्ज–२ न्यूरोडस्थित आठ कठ्ठा क्षेत्रफलमा अत्याधुनिक सात (७) तले भवन, नेपालगन्ज– ८ स्थित मंगल प्रसाद मावि परिसरमा महिला कलेज निर्माणको प्रक्रिया अन्तिम चरणमा पुर्याएको लगायत आधा दर्जन बढी योजनाहरु सञ्चालन भइरहेका छन् ।
महिला कलेजका लागि ८ करोड बजेट बिनियोजन गर्नुका साथै डिपिआर तयार गरेर निर्माणका लागि ठेक्का आव्हान गर्ने गरि काम अघि बढाइएको छ । साथै क्याम्पस स्थापना भए मुस्लिम, मधेसी र अल्पसंख्यक समुदायका छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न सहज हुने विश्वास गरिएको छ । अन्डर ग्राउण्ड पार्किङसहितको सुविधा सम्पन्न शपीङ क्म्प्लेक्स भवन निर्माणका लागि डिपीआर तयार भएर निर्माण प्रक्रिया चाँडै शुरु गराइने उपमहानगरपालिकाले जनाएको छ ।
भइरहेका विकास निर्माणको प्रगति र भावी योजनासहितको प्रतिवद्धता सार्वजनीक गर्दै नगरको समग्र विकासका लागि सञ्चारकर्मी र सञ्चारमाध्यमले पुर्याएको योगदानप्रति पनि मेयर डा.राणाले कृतज्ञता प्रकट गरेका छन् । साथै उहाँले जिम्मेवारी निर्वाहका क्रममा हुन सक्ने कमी कमजोरीलाई सुधार्दै लैजाने वाचासहित निरन्तर सहयोगका लागि सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।
सत्यपाटी - ।