बाँके । सरकारले हरेक बर्ष अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाउँछ । गुणस्तर जाँच, बिल, उपभोग्य मिति, अधिकतम खुद्रा मूल्य लगायतका विषयमा खुबै चर्चा हुन्छ । ‘गुणस्तरको हो कि होइन बुझ्ने, बिल माग्ने, उपभोग्य मिति हेर्ने, अधिकतम खुद्रा मूल्य भन्दा बढी लिएको छ कि हेर्ने’ यति गर्दा नै उपभोक्ता ठगिनबाट जोगिन्छन् । यसमा उपभोक्ता आफै सचेत हुनुपर्छ ।
यदी यी कुराहरुबाट ठगिएमा उजुरी लिने र कारबाही गर्ने निकाय वाणिज्य कार्यालय हो । वर्षभरि उपभोक्ताको अधिकार खुम्चिने र वर्षको अन्त्यमा उपभोक्ता अधिकार दिवस मनाउने भन्दै चर्का नारा र बहस गर्ने वाणिज्य कार्यालयलाई अन्य समयमा भने उपभोक्ता अधिकारका विषयमा कुनै वास्ता हुँदैन । २०७२ को नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको अधिकारसम्बन्धी व्यवस्था गरेको छ ।
सोही धारामा आधारित भएर उपभोक्ता संरक्षण ऐन २०७५ पनि जारी भइसकेको छ । तर ऐन अनुसार नै काम कारबाही गर्न स्वयं वाणिज्य कार्यालय नै चुकिरहेको छ । संविधानको धारा ४४ को उपधारा १ ले उपभोक्ताको हक सुनिश्चित गरिसकेको छ । प्रत्येक नेपाली उपभोक्ताले गुणस्तरीय सेवा तथा वस्तु उपलब्ध र प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको कुरा उपधारा १ मा उल्लेख गरिएको छ ।
नेपाल सरकारले जे–जे कुराहरूको घोषणा गरेको थियो, ती कुनै पनि पूरा भएका छैनन् । यो वर्ष पनि ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार, हामी सबैको सरोकार’ भन्ने नारा तयार गरेको छ । अहिले बजारमा नुनदेखि सुनसम्ममा समस्या नै समस्या रहेको छ । एउटा सर्वसाधारण बजार गएर घर फर्कदा म आज लुटिए, ठगिए भनेर निराश बन्नुपर्ने अवस्था छ ।
बजारमा करोडौं रूपैयाँ ठगी गर्ने व्यक्तिलाई पाँच हजार, दश हजार जरिवाना गर्ने व्यवस्था गरिएको छ । त्यो पनि जायज छैन । कारावाही गर्नका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पनि अघि बढेको छैन । यसअघि सरकारका अधिकारीहरू हामीसँग सीमित स्रोत साधन छ, भनेर पन्छिने गरेका थिए । अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको छ, त्यसले गर्दा उपभोक्ता अधिकार दिवस केवल नारामा र कागजमा मात्रै सीमित भएको देखिन्छ ।
उपभोक्ता अधिकार दिवस, हरेक वर्ष मार्च १५ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस दिन विश्वभरि नै उपभोक्ता अधिकारका विभिन्न विषयमा छलफल हुनेगर्छ । सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले पहिलोपटक उपभोक्ता अधिकारका अवधारणा ल्याएका थिए । यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सो अवसरमा आज ३७ औं विश्व उपभोक्ता अधिकार दिवस मनाउन लागिएको हो ।
देशैभरि उपभोक्ताको अधिकार, बनेका कानून र सचेतताका विषयमा छलफल भइरहेका छन् । नेपालगन्जमा पनि दिवसको अवसरमा नेपालगन्जमा र्याली र अन्तरक्रिया गरिएको छ । बर्षमा एक पटक गरिने छलफलमा ‘उपभोक्ता बजारका सार्वभौम हुन् । उपभोक्ता बिना बजार सम्भव छैन’ भन्ने गरिन्छ । बजारमा भने कसरी उपभोक्तालाई ठग्न सकिन्छ भन्ने दाउपेज हुने गर्दछ ।
उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही गर्नुपर्ने अधिकारकर्मीहरुको माग छ । सस्तोको नाममा भारतबाट गुणस्तरहीन उपभोग्य बस्तु भित्रिरहेको भन्दै उपभोक्ता हकहितको वकालत गर्नेहरुलाई भन्सारमा गएर त्यसको नियमिन गर्नुपर्ने अधिकारकर्मीहरुको सुझाव छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए । स्थानीय तहले बजार अनुगमनलाई खासै महत्व नदिएकोे उल्लेख गर्दै प्रजिअ भुजेलले सबै मिलेर उपभोक्तालाई ठगिनबाट रोक्नुपर्ने बताए ।
बर्षमा एकपटक कोठे छलफल गरेर उपभोक्ता अधिकारका बारेमा निकै बहस गरिन्छ । नेपालगन्जमा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले उपभोक्तालाई सचेत गराउँदै ठग व्यवसायीलाई कडा कारबाही गर्नुपर्ने बताइन् । ‘व्यवसायी पनि उपभोक्ता हुन् । तर, ऊ आफू उपभोक्ता भन्दा व्यवसायीको रुपमा प्रस्तुत हुने गर्दछ, उपमेयर थापाले भनिन् । उनले जिल्लामा अनुगमन गर्ने निकाय र उपभोक्ता हितका सवालमा काम गर्नेहरुका बीचमा समन्वय, सहकार्य हुन नसकेको बताइन् ।
अन्तरक्रियामा वाणिज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतमले उपभोक्ता अधिकार र कानूनका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । इन्सेकी सरस्वती मल्ल, फियानका मुकुन्द राना, आइएचआरसीका विश्वजित तिवारी, कानून व्यवसायी बलबहादुर चन्दलगायतले उपभोक्ताहरु सचेत भएमा ठगिन नपर्ने औल्याएका थिए ।
सत्यपाटी - ।