सूचनाको शक्ति - The Power Of Information

        

शमशेरगन्जमा ट्राफिक आतंक, एसपीको आडमा सई बाबुरामको अवैध असुली

बाँके । बाँकेको शमशेरगन्जमा रहेको ट्राफिक प्रहरी पोष्टका इन्चार्जका रुपमा प्रहरी नायव निरीक्षक (सई) बाबुराम जिसी खटिएपछि सो क्षेत्रमा अवैध असुली बढेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दले उनलाई सोझै शमशेरगन्ज पोष्टमा पठाएका हुन् । जिल्लामै राम्रो कमाई हुने पोष्ट भन्दै एसपी चन्दले प्रदेश कार्यालयबाट उनलाई सोझै खटाएका हुन् ।

एसपीले नै सोझै खटाएपछि उनले जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिने निर्देशनलाई कमै वास्ता गर्छन् । एसपीकै आडमा असुलीलाई तीब्र बनाएका जिसीले चेकिङ्गका नाममा दुख दिने गरेको स्थानीय प्रदीप वलीले बताए । उनले भने, ‘विभिन्न वहानामा असुली गरिरहेकै हुन्छन्, धेरै पटक त मैले दुख पाएको छु, अनावश्यकरुपमा जरिवाना तिरेको छु ।’

उनका अनुसार अधिकांश जरिवानामा जिसीले सवारी चालकलाई रसिद दिदैनन् । यसले रसिदबिनै जरिवानाबाट उठेको रकम सोझै खल्तीमा जान्छ । वलीले भने, ‘उनी ट्राफिक व्यवस्थापनमा भन्दा जरिवाना काट्ने र पैसा असुल्ने नियतले मात्र सडकमा चेकिङ गरिरहेका हुन्छन् । सर्वसाधरणलाई दुख दिएर पैसा असुल्ने काममा मात्र व्यस्त हुन्छन् ।’

शमशेरगन्जको इन्चार्ज भएर जिसी खटिएपछि कमाउधन्दाको लागि जथाभावी चेकिङ गरेर साना–सानो कुरामा सवारी चालकहरुलाई दुख दिने काम भैरहेको एक जना ट्याक्टर चालकले नाम उल्लेख नगर्ने शत्रमा बताए । सबैभन्दा बढी सर्वसाधारणहरु तथा सवारी साधानहरुको ओहोरदोहोर हुने क्षेत्र भएकै कारण एसपी चन्दले उनलाई त्यहाँ खटाएको ट्राफिक प्रहरी स्रोतले भन्यो ।

ट्राफिक प्रहरी स्रोतका अनुसार एसपी साबले खटाएको मान्छे भन्दै जिसीले मनपरी ढंगले रकम असुली गरिरहेका छन् । ट्याक्टर चालक मदन चौधरी भन्छन्, ‘जरिवाना भन्दै रकम असुल्छन्, तर रसिद दिँदैनन् । अनि हामीले अर्को पोष्टमा फेरि जरिवाना तिर्नुपर्छ । रसिद नदिँदा दोहोरो मारमा परेका छौं । जिसी सर आएपछि दैनिकजसो विभिन्न बहानामा दुख पाइरहेका छौं । ’

जिसीको रवैयाले कमाई भन्दा दुख भइरहेको उनले बताए । त्यसो त सो क्षेत्रबाट ढुवानी हुने ढुंगा, गिट्टी र वालुवामा जिल्लामा अन्य नाकाभन्दा दोब्बर बढी भित्रिन्छ । सो नाका भएर नदीजन्य पदार्थ जिल्लामा धेरै भित्रिने भएकै कारण एसपी चन्दले उनलाई खटाएको बुझिएको छ । तर समयमै नदीजन्य पदार्थको ठेक्का नखुल्दा कमाउने दाउ फुत्किएपछि चेकजाँचका नाममा दुख दिन थालिएको हो ।

‘पूर्वी क्षेत्रबाट शमशेरगन्ज हुँदै ओभरलोड भएर आउने ट्रिपर तथा ट्रयाक्टरहरुलाई सेटिङ्ग मिलाएर छाडिदिने एसपीको निर्देशन छ,’ ट्राफिक प्रहरीले स्रोतले भन्यो, ‘निर्देशन मान्नै प¥यो ।’ सवारी चेकजाँचका नाममा शमशेरगन्ज क्षेत्रमा त्रास फैलाइरहेका जिसीले एसपीकै निर्देशनमा ओभरलोड भएर आएका ट्रिपर तथा ट्रयाक्टरहरुलाई उन्मुक्ति दिइरहेको छ । ट्राफिक प्रहरी स्रोतका अनुसार ओभरलोड भएर आएका ट्रिपरहरु सेटिङ्गमा सञ्चालन गरेर उनीहरुबाट मासिकरुपमा रकम असुली गरिन्छ ।

ओभरलोड बोकेर आउने ट्रिपर तथा ट्रयाक्टरहरुलाई सकभर कारबाही गरिँदैन । ओभरलोड ट्रिपर तथा ट्रयाक्टरहरुबाट मासिक ५ हजारदेखि १५ हजार रुपैयाँसम्म ट्राफिक प्रहरीलाई बुझाउनुपरेको चालकहरु बताउँछन् । ढुंगा, गिट्टी र वालुवा बोकेर दैनिक सयौंको संख्यामा कोहलपुर हुँदै नेपालगन्ज लगायतका क्षेत्रमा भित्रिने ट्रिपर र ट्रयाक्टरहरु अधिकांश ओभरलोड भएरै भित्रिने गर्छन् । अझ विभिन्न निर्माण कम्पनीका ट्रिपरहरु पनि उस्तै संख्यामा निर्माण सामाग्री बोकेर निर्माणस्थलसम्म पुग्छन् ।

ट्राफिक प्रहरीकै संरक्षणमा विगतमा पनि ओभरलोड ट्रिपर तथा ट्याक्टरहरु महेन्द्र राजमार्ग र रत्न राजमार्गबाट कोहलपुर हुँदै आसपासका गन्तव्यमा पुग्ने गरेका छन् । तत्कालिन क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको सेटिङ्गमा ओभरलोड ट्रिपर तथा ट्याक्टरहरुलाई ‘लाइन’ दिइन्थ्यो । हाल प्रदेश ट्राफिक प्रहरी कार्यालयले कमाई हुने पोष्टमा रुपमा चिनिएको शमशेरगन्ज पोष्टमा सोझै आफू निकटका व्यक्तिलाई पठाउन थालेको छ ।

ट्राफिक प्रहरीकै संरक्षणमा त्यस क्षेत्रबाट खुलेआमरुपमा ओभरलोड ट्रिपर तथा ट्याक्टरहरु कोहलपुर हुँदै गन्तव्यतर्फ भित्रिने गरेको गुनासाहरु आइरहेका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले नै ‘लाइन’ दिएपछि ओभरलोड ट्रिपर तथा ट्याक्टरहरु भित्रिने क्रम हुने क्रम बढेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक गणेश चन्दले भने यो कुरा गलत भएको दावी गरे ।

शमसेरगन्ज पोष्टका इन्चार्ज बाबुराम जिसीले भने आफू सोझै प्रदेशबाट खटिएको भए पनि चेकजाँचका नाममा कसैलाई दुख नदिएको बताए । तर एकजना ट्रयाक्टर चालकले भने आफूले मासिकरुपमा शमशेरगन्ज पोष्टका इन्चार्जलाई केही रकम बुझाउँदै आएको बताए । ट्रयाक्टर चालकले भने, ‘मासिकरुपमा केही रकम बुझाउँदा ओभरलोड राख्न पाइन्छ । त्यसबाट हामीलाई पनि राम्रै फाइदा हुन्छ ।’

नाम नबताउने शर्तमा अर्का एक ट्याक्टर चालकले आफुहरुले निर्माण सामाग्री ओसारपसार गर्दा ट्राफिक प्रहरीबाट निक्कै समस्या भोग्नुपरेको बताउँदै मासिकरुपमा केही रकम दिने शर्तमा ओभरलोड समेत राख्न पाइने भएपछि अहिले सहज भएको बताए । ट्राफिक प्रहरीलाई केही रकम बुझाए पनि ओभरलोड राख्न पाइने भएपछि आफूहरुलाई घाटा नहुने ट्याक्टर चालकको भनाई छ ।

उता जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले ट्राफिक प्रहरीले कसैलाई दुःख नदिएको बताए । उनले भने, ‘नियम संगतरुपमा नियमित चेकजाँच गर्ने गरिएको भए पनि दुख दिने प्रवृत्तिले चेकजाँच गर्न नपाउने बताउँदै त्यस बिषयमा आफुले वास्तविकता बुझेर सोही अनुसारको निर्देशन दिने बताए । उनले फिल्डमा ट्राफिक प्रहरीले अनावश्यक दुख दिने र पैसा असुल्ने गरेको भन्ने बारेमा बुझेर आवश्यक काम कारबाही अघि बढाउने उनले बताए ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार ०७:३८