
बाँके । विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा नेपालगन्ज–कोहलपुर सडकखण्डको राँझा चौक नजिकै विमानस्थल छेउमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ । विहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बन निष्क्रिय पारेको हो ।

बम राखेको सूचना पाउने वित्तिकै घटनास्थलमा पुगेको प्रहरीले नेपाली सेनालाई जानकारी गराएको बाँकेका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाएको उनले जानकारी दिए । बम राखेको हल्लाले विभिन्न स्थानमा जानका लागि विमानस्थल पुगेका यात्रुहरु, राँझा चोक लगायत आसपासका क्षेत्रमा त्रास फैलिएको थियो ।
बन्दका कारण बाँकेमा शिक्षण संस्था बन्द रहेका छन् भने लामोदुरीका सवारी साधन चलेका छैनन् । नेपालगन्जमा छोटोदुरीका सवारी साधन र पसल ब्यवसाय आंशिकरुपमा खुलेका छन् । सरकारले दुई दिनअघि घोषितरुपमै विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि बम बिष्फोटका घटनामा वृद्धि भइरहेका छन् ।
सरकारले आफ्नो पार्टी नेता तथा कार्यकर्तामाथि दमन र गिरफ्तारी भन्दै सो पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण यस्त घटनामा बृद्धि आएको छ । पार्टीका महासचिव विप्लवले सरकारी प्रतिबन्धको कडा प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन् । सरकारले लगाएको प्रतिबन्ध गलत भएको भन्दै वार्ताबाटै समस्याको समाधान खोज्न पनि दवाव परिरहेको छ ।
सत्यपाटी - ।