सूचनाको शक्ति - The Power Of Information

        

असुरक्षित प्रहरी, अभियुक्तसँगै सुत्नुपर्ने बाध्यता

बाँके । समाजमा शान्ति सुरक्षा कामय राख्ने प्रहरी प्रशासन नै आफैँ असुरक्षित बनेको छ । बाँकेका अधिकांश प्रहरी चौकी जीर्ण छन् । कतिपयको आफ्नै भवन छैन् । भएका कतिपय ठाउँमा स्रोत साधनको अभाव छ । कतिपय स्थायी चौकीसमेत भाडाको र जीर्ण भवनमा छन् ।

यसले दरबन्दीअनुसारका प्रहरीलाई सुत्नै समस्या हुँदै आएको छ । कतिपय चौकीमा त प्रशासनीक कार्यालय र कर्मचारी सुत्ने ठाउँ एउटै छ । एउटै कोठाको भरमा प्रहरी चौकी चलाउनु पर्दा कतिपय चौकीमा व्यवस्थापन गतिलो हुन सकेको छैन । ग्रामीण तहका मात्रै नभई सहरकै प्रहरी चौकी भाडाको घरमा सञ्चालनमा छन् ।

बाँकेमा ४५ ओटा प्रहरी चौकी छन् । जसमा वडा प्रहरी नेपालगन्ज, राधापुर, कोहलपुर, जमुनाह लगायतका केही प्रहरी चौकी पक्की तथा सुरक्षित रहेपनि अधिकांश चौकी असुरक्षित र आफ्नै स्वमात्विका भवनविहीन छन् । बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसार दुईवटा भवन भाडामा छन् ।

अरु भवनहरु सरकारी तथा गैरसरकारी संस्थाका भवनमा छन् । यद्दपी यी भवनमा प्रहरीको आफ्नै स्वामित्व भने छैन । भाडाको भवन पनि जीर्ण हुँदा सेवा प्रवाह गर्न निकै समस्या हुने गरेको गनापुर प्रहरी चौकीका इन्चार्ज भीम खड्का बताउँछन् । अर्कैको भवन त्यो पनि जीर्ण भएकोले कामकाजमा निकै समस्या भइरहेको उनले बताए ।

प्रहरीसँग आफ्नो भवन नहुँदा पक्राउ परेका अभियुक्तलाई आफूसँगै सुताउनुपर्ने बाध्यता समेत रहेको एक चौकी इञ्चार्जले गुनासो गरेका छन् । कुनै व्यक्तिलाई हिरासतमा राख्दासमेत आफैँसँगै राख्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘दुर्गममा प्रहरी संख्या कम हुन्छ, त्यसैमाथि पक्राउ परेका अभियुक्तलाई आफैँसँग राख्नु पर्दा असुरक्षित महसुस हुने गरेको छ ।’

सदरमुकामसँगै जोडिएको गनापुर चौकीसमेत अस्तव्यस्त छ । तर, राधापुर, लगायत दुर्गमका केही प्रहरी चौकी भने अत्याधुनिक छन् । तर, त्यस्ता सुविधा सम्पन्न भवन दरबन्दी अनुसारका प्रहरी अभावमा पुरै प्रयोग हुन सकेका छैनन् । ‘कतिपय ठाउँमा प्रहरी चौकीको नाममा जमीन भए पनि भवन निर्माण भएको छैन । धेरै ठाउँमा जमीन र भवन दुवै छैन ।

भवनको अभावमा सेवा प्रवाहमा समस्या हुने गरेको छ । कतिपय चौकीका भाडका भवन समेत वर्षायाममा पानी चुहिएर भित्ताहरु लड्ने अवस्थामा पुगेका छन् । बाँकेका कतिपय प्रहरी चौकी भवनहरु दस वर्षे सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन नेकपा माओवादीबाट ध्वस्त पारिएका थिए । यहाँका कतिपय प्रहरी चौकीमा भवन अभावका साथै खानेपानीको समेत सहज नहुँदा झनै समस्या हुनेको गरेको छ ।

अवैध खसीबोका नियन्त्रणमा

वडा प्रहरी कार्यालय नेपालगन्जले भारतबाट अवैधरुपमा ल्याउँदै गरेका ८० वटा खसीबोका बरामद गरेको छ । विशेष सूचनाको आधारमा बुधबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका १० रामवाग टोलबाट अवैधरुपमा ल्याउदै गरेको अवस्थामा खसीबोकासहित ३ जनालाई नियन्त्रणमा लिइएको हो ।

भारतबाट अबैधरुपमा भन्सार छली चोरीपैठारी गरी ल्याइएका अवैध खसीबोकाहरु नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार बरामद गरिएका खसीबोकाको मुल्य अनुमानित १२ लाख रहेको छ ।

नियन्त्रणमा लिइएका खसीबोकासहित तीनै जनालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरीले जनाएको छ । पछिल्लो समय वडा प्रहरीले अबैधरुपमा भन्सार छली चोरीपैठारीविरुद्व आफ्नो सक्रियता बढाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार ०७:१४