सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी राजदुत बेरीले उपमहानगरपालिकालाई दिँदै भने, ‘म पुनः नेपालगन्ज आउनेछु’

बाँँके । नेपालका लागि अमेरिकी राजदुत राण्डी डब्लु बेरीले प्रविधिलाई अपनाएर सुशासन, पारदर्शी र जवाफदेहिता कायम गरेकोमा उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् । उनले आगामी दिनहरुमा नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

युएसएआइडीको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित योजनाहरुको अनुगमनका क्रममा नेपालगन्ज आइपुगेका राजदुत बेरीले दुई बर्षपछि फर्केर पुनः नेपालगन्ज आउने प्रतिवद्धता जनाएका थिए । नेपालगन्ज उपमहानगरपालिकामा खुला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन सञ्चालनमा युएसएआइडीले सहयोग गरिरहेको छ ।

खुला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन सञ्चालनमा आएपछि उपमहानगरपालिकाले प्रवाह गर्ने सेवामा नगरवासीको पहुँच बढेको छ । खुला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशनको प्रयोगले नगरपालिकाको काम कारवाही पारदर्शी हुनुका साथै जनप्रतिनिधीहरुलाई थप जवाफदेही बनाउन सहयोग पुगेको निष्कर्ष छ ।

राजदुत बेरीले नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरमा जनप्रतिनिधी र स्थानीय सरोकारवालाहरु बीच भएको छलफलमा समेत भाग लिएका थिए । सो क्रममा बेरीले वडाबाट प्रवाह भइरहेका सेवा सुविधा लगायतका विषयमा वडाध्यक्ष सफिक बेहनासँग चासो राखेका थिए । सो अवसरमा उनले स्थानीय सरकार र नागरिक समाज मिलेर अघि बढे राष्ट्र समृद्ध हुने धारणा राखेका थिए ।

कार्यक्रममा युएसआइडी र एफएचआई ३६० को सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जको सहकार्यमा सञ्चालित पारस्परिक जवाफदेहिता परयोजना अन्तरगत काठमाडौं लिभीङ ल्याबको प्राविधिक सहयोगमा निर्मित वेभसाइड र एप्लीकेशनको महत्वबारे नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले जानकारी गराएकी थिइन् ।

यो सेवा नेपालकै दोस्रो शहरका रुपमा नेपालगन्जमा शुरु गरिएको हो । यस अघि निलकण्ठ नगरपालिकामा मात्र सेवा शुरु भएको छ । नेपालगन्ज उममहानगरपालिकाका मेयर डा.धवल सम्शेर राणाले नगरपालिकाले दिने सेवा सुविधालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन नागरिक समाजको भुमिका महत्व रहेको बताए । साथै उनले प्रविधिलाई सँगसँगै जोडेर अगाडि बढ्ने प्रतिवद्धता जनाए । नगर उपप्रमुख उमा थापामगरले प्रविधीमैत्री सेवाले जनताको कामलाई सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन् ।

उनले जहाँ नागरिक समाज बलियो हुन्छ त्यहाँ सुशासन, जवाफदेही र पारदर्शिता हुने बताइन् । सो कार्यक्रममा प्रवक्ता एन्डी डी आर्मेट, दूतावास सञ्चार संयोजक अपार पौडेल, एफएचआई ३६० का प्रमुख विष्णु सापकोटा, एफएचआई ३६० का उपप्रमुख सजना महर्जन, यूएसआइडीका सुशासन विज्ञ कृष्णा पाठक सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी लगायतको सहभागिता रहेको थियो । वेभसाइडमा उपमहानगरपालिकाको प्रोफाइल, वेजट, परियोजना, सेवा, संशाधन, सूचना तथा गतिबिधी, नक्सा लगायतका सम्पूर्ण तथ्यहरु समावेश छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १९:४७