सूचनाको शक्ति - The Power Of Information

        

कालिकोटमा ‘विप्लव’विरुद्ध प्रहरी ‘अपरेसन’, रोकियो हेडक्वार्टर र सडक निर्माण

विप्लव समूहले हेडक्वार्टर बनाउन थालेको ठाउँ ।

विप्लव समूहले हेडक्वार्टर बनाउन थालेको ठाउँ ।


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृह जिल्ला कालिकोट सुरक्षा दृष्टिले निकै ‘संवेदनशील’ बनेको छ । विश्वकर्माको घर नरहरिनाथ गाउँपालिका वडा नं.६ मालकोट हो । उनले मालकोटमा ‘चुनौतीपूर्ण प्रभाव’ विस्तार गरेका छन् । विश्वकर्माको अगुवाइमा मालकोटमा २१०० वर्गफिटको सहिद स्मृति भवन र पार्टी हेडक्वार्टर कार्यालय बनाउन थालिएको छ ।

हेडक्वार्टरसम्म पुग्न १४ किलोमिटर बाटो खन्न थालिएको छ । खुलालु–लालु–मालकोटसम्म १४ किलोमिटर सडक विप्लव माओवादीले खनिरहेको प्रहरीले जनायो । यो कालिकोट सदरमुकाम मान्मबाट ११ किलोमिटर टाढा कर्णालीपारिको भूभाग हो । सदरमुकामबाट कर्णाली नदीसम्म बाटो छ । तर, कर्णालीपारि बाटो छैन । कर्णाली नदीमा पुल बन्दैछ । नदीबाटै डोजर पार गराएर विप्लव माओवादीले बाटो खन्न थालेको प्रहरी स्रोत बताउँछ । विप्लव माओवादीले झन्डै पाँच करोड लागतमा सडक खन्न थालेको हो ।

सात किलोमिटर सडक खनिसकिएको छ । सवा करोड मूल्य पर्ने दुई वटा डोजर बाटो खन्न ल्याइएको छ । बम बिस्फोट, चन्दा आतंक बढेपछि अहिले सडक र पार्टी हेडक्वार्टर भवनको निर्माण प्रहरीले रोकिदिएको छ । ‘यी सबै कार्य विश्वकर्माकै अगुवाइमा भइरहेका छन्, सडक र भवन निर्माण रोकिदिएका छौं,’ कालिकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद शर्माले भने, ‘विप्लव माओवादीबाट प्रहरीलाई चुनौती दिने काम भइरहेको छ, हामीले उनीहरूको अभियान सफल बन्न दिएका छैनौं ।’

शर्माका अनुसार विश्वकर्मा लगायत एकदर्जन नेताको खोजी भइरहेको छ । विश्वकर्मा अहिले संगठन विस्तारका क्रममा एक नम्बर प्रदेश पुगेको प्रहरीले जनाएको छ । कालिकोट कर्णाली प्रदेशको विप्लव माओवादी प्रभावित क्षेत्र हो । यहाँबाट विप्लवको पार्टीमा पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, भेरी–कर्णाली ब्युरो गरी १३ जना नेताले प्रतिनिधित्व गर्छन् । विश्वकर्माले काठमाडौं, ललितपुर, भक्तपुरसमेत गरी ४५ जिल्लामा पार्टीका अध्यक्ष कालिकोटका बनाएका छन् । विप्लव माओवादीको काठमाडौं जिल्ला अध्यक्ष भीरेन्द्र उपाध्याय छन् भने ललितपुरमा नवीन विक ।

विकलाई प्रहरीले नख्खु बिस्फोटको योजनाकार भनेको छ । उनी कालिकोटमा लुकिछिपी बसिरहेको प्रहरीले जनाएको छ । ‘उनी कालिकोट नै छन् भन्ने सूचना छ, हामी खोजी गरिरहेका छौं,’ डिएसपी शर्माले भने । कर्णाली प्रदेशका सबै जिल्ला इञ्चार्ज कालिकोटकै छन्, ती सबै विश्वकर्माले बनाएका हुन् । प्रहरी स्रोतका अनुसार विप्लव ‘भूमिगत’ भएर नुवाकोट, काभ्रेतिर गतिविधि गरिरहेका छन् । संगठन विस्तारको काम प्रकाण्डले गरिरहेका छन् । अदालतबाट छुटेपछि प्रकाण्डले गृह जिल्लामा गतिविधि बढाएको कालिकोट प्रहरीको विश्लेषण छ ।

कालिकोटमा विप्लव समूहले खनिरहेको बाटो ।


यी हुन् कालिकोटका तेह्र नेता

खड्गबहादुर विश्वकर्मा प्रवक्ताको जिम्मेवारीमा छन् । उनी संगठन विभाग प्रमुखको रूपमा पनि क्रियाशील छन् । प्रहरीका अनुसार उनी देशैभरि संगठन निर्माणमा सक्रिय छन् । कालिकोटबाट १३ केन्द्रीय र पोलिब्युरो सदस्य छन् । तीमध्ये कसैलाई जिल्ला, एकभन्दा बढी जिल्ला, प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । नवीन विक ललितपुर जिल्ला इञ्चार्ज हुन् ।

खम्ब बुढा भेरी कर्णाली ब्युरो हुन् । धीरेन्द्र उपाध्याय काठमाडौं इञ्चार्ज हुन् । कालिकोटका अन्य नेताहरू लोकजंग शाही, कर्ण भण्डारी, कालीबहादुर शाही, रणदीप ऐरी, विशाखर जैसी, शितल बिष्ट, अनिपाल बिक, पदम बिक र कञ्चन शाही हुन् । डिएसपी शर्माका अनुसार यी सबै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा छ । ‘यी कोही पनि सदरमुकाम टेक्न सकेका छैनन्, अर्धभूमिगत रूपमा गाउँगाउँमा खटिन्छन्,’ शर्माले भने, ‘नवीन बिक अत्यधिक खोजीमा छन् ।’

निशाना प्रहरी कार्यालय

प्रहरीका अनुसार विप्लव माओवादीले प्रहरी कार्यालयहरूलाई निशाना बनाउन खोजेको छ । ‘उनीहरूसँग प्रशस्तै हतियार छन् र प्रहरीबाट हतियार लुट्ने योजना बनाइरहेको सुनिन्छ, तर वास्तविकता के हो हामी अनुसन्धान गरिरहेका छौं,’ डिएसपी शर्माले भने । मंगलबार मन्त्रिपरिषद बैठकले विप्लवका माओवादीका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कालिकोट प्रहरीले जिल्लाका केही स्थानमा रातभरि ‘अपरेसन’ चलायो । कुमालगाउँ, कोटबाडालगायत स्थानमा प्रहरी परिचालन भए पनि कोही फेला नपरेको कालिकोट प्रहरीले जनाएको छ ।

विश्वकर्माको घर भएको नरहरिनाथ त्यही गाउँपालिका हो, जहाँ स्थानीय तह निर्वाचन हुँदा विप्लव माओवादीले अवरोध गरेको थियो । त्यसक्रममा नरहरिनाथ गाउँपालिकामा उठेका एक उम्मेदवारको मृत्यु भएको थियो । २०७४ वैशाख ३१ गते मतदान सकेर मतपेटिका लैजाने क्रममा विप्लव कार्यकर्ताले अवरोध गरेका थिए । त्यसपछि झडप हुँदा प्रहरीको गोली लागेर धनरूप बटालाको मृत्यु भएको थियो । प्रतिनिधिसभा चुनावताका विप्लव माओवादीले कालिकोटका सबै प्रहरी चौकीमा आक्रमण गरेको थियो । तर, खासै ठूलो क्षति भने भएन ।

कालिकोटमा ६ वटा गाउँपालिका, ३ नगरपालिका छन् । जिल्ला प्रहरीसहित पन्ध्र वटा युनिट छन्, ३५० जनाको दरबन्दी छ । कालिकोट विप्लव माओवादीको गढ हो । यहाँ हरेक घर विप्लव माओवादीका कार्यकर्ता छन् । युवादेखि वृद्धवृद्धासम्म विप्लव माओवादीका कार्यकर्ता छन् । ‘विप्लव माओवादीका कार्यकर्ता पक्रने हो भने यहाँको जेलले थाम्दैन, तीन वटाजति स्कुल चाहिन्छन्,’ डिएसपी शर्मा भन्छन् । सरकारले प्रतिबन्धको निर्णय गर्नुअगाडि कालिकोटमा आमसभा र कार्यक्रमहरू भइरहन्थे ।

प्रायः कार्यक्रम स्कुलमा बढी गरिन्छन् । यस्ता आमसभामा नेताहरूले आफूहरूसँग ११ हजार जनसेना रहेको बताउने गरेका छन् । जसमध्ये संयुक्त राष्ट्रसंघीय मिसन अनमिनद्वारा बहिर्गमित ७ हजार रहेको बताइने गरिएको छ । सरकारले विप्लव माओवादीसँग राजनीतिक रूपमा समस्या समाधान गर्न संवाद गरेको थियो । सशस्त्र, अर्धभूमिगत, जातीयता, क्षेत्रीयताको मुद्दा उठाएर आन्दोलित धेरै समूहसँग वार्ता गरिएको थियो । सरकारले वार्ताका लागि नेकपा नेता सोमप्रसाद पाण्डेको नेतृत्वमा टोली गठन गरेको थियो ।

यसले संवाद गरे पनि विप्लव माओवादी र सीके राउत समूहलाई राजनीतिक मूलधारमा ल्याउन सकेको थिएन । वार्ता टोलीको म्याद गत माघमा सकियो, सरकारले म्याद थप पनि गरेन । सीके राउत समूहलाई प्रधानमन्त्री केपी ओलीको पहलमा संवादमा ल्याइसकिएको छ । ‘हामीले सबै समूहलाई वार्तामा ल्यायौं, तर विप्लव माओवादीलाई ल्याउन सकेनौं, यो माओवादीको विषय राजनीतिक संवादबाटै गर्नुपर्छ भनी सरकारलाई राय तथा प्रतिवेदन दिएका थियौं,’ पाण्डेले भने ।

यी हुन् विप्लव समूहका हाइप्रोफाइल नेताहरु :

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि हिजो सरकारले प्रतिबन्ध घोषणा गरेसँगै नेता, कार्यकर्ताहरु भूमिगत हुन थालेका छन् । विप्लव यसअघि नै अर्धभूमिगत भइसकेका थिए । यता प्रहरी भने नेकपाका गतिविधिमाथि नियन्त्रण गर्न नेता कार्यकर्ताहरुको खोजीमा जुटेको छ ।प्रहरीले नेकपाको संगठन संरचनाबारे सूचना संकलन गरिरहेको बताएको छ । प्रहरीकाअनुसार विप्लव नेकपाको सांगठनिक संरचना यस्तो छ :

विप्लव नेकपाको महासचिवमा नेत्र विक्रम चन्द विप्लव छन् । प्रवक्तामा खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’ छन् । प्रकाण्ड पूर्वमन्त्री समेत हुन् । विप्लव र प्रकाण्डसहित नेकपाको ५ सदस्यीय हाइकमाण्ड छ । जसमा हेमन्त प्रकाश ओली, धर्मेन्द्र बास्तोला र सन्तोष बुढामगर छन् । उक्त समूहले देशभर ३ ओटा कमाण्ड बनाएको छ । मध्य केन्द्रीय कमाण्ड ईन्चार्जमा हेमन्त प्रकाश ओली (सुदर्शन), पुर्वी कमाण्ड ईन्चार्जमा अनिल शर्मा (विरही) र पश्चिम कमाण्ड ईन्चार्जमा धर्मेन्द्र बास्तोला (कंचन ) र सह–ईन्चार्जमा ओम प्रकाश पुन (निर्माण) रहेको जनाइएको छ ।

यी तीनओटा कमाण्डमध्ये १७ ओटा ब्यूरोहरु खडा गरिएको छ । जसमा कोशी ब्युरो (सुनसरी, भोजपुर, मोरङ र धनकुटा)को इन्चार्जमा पुष्कर श्रेष्ठ रहेका छन् । मेची ब्युरो ( झापा, इलाम, पांचथर, संखुवासभा, ताप्लेजुङ र तेह्रथुम)को इन्चार्जमा सुमन लिम्बू, सगरमाथा ब्युरो (खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र उदयपुर)को इन्चार्जमा दिपेश राई रहेका छन् । त्यस्तै, जनकपुर ब्युरो (धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, सिन्धुली)को इन्चार्जमा सन्देश पौडेल, पुर्वी ताम्सालिङ ब्युरो (दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काभ्रे)को इन्चार्जमा नन्द बहादुर बुडा मगर (बिजय) र नारायणी ब्युरो (बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन)को इन्चार्जमा चेत बहादुर पुन (चिरण) रहेका छन् ।

त्यस्तै, पश्चिम तामसालिङ ब्युरो (रसुवा, नुवाकोट र धादिङ)को इन्चाजमा मोहलाल चन्द (आधार), उपत्यका ब्युरो (काठमाडौं, भक्तपुर र ललितपुर)को इन्चार्जमा प्रज्वल श्रेष्ठ, गण्डक ब्युरो (गोर्खा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ र स्याङ्जा)को इन्चार्जमा सावित्री दुरा (आस्था), लुम्बिनी ब्युरो (नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी)को इन्चार्जमा चन्द्र बहादुर चन्द (विरजंग), धवलागिरी ब्युरो (म्यादी, बागलुङ, पर्वत, सल्यान)को इन्चार्जमा धुर्व घिमिरे रहेको जनाइएको छ ।

यसैगरी, राप्ती ब्युरो (दाङ, प्युठान, रोल्पा, रुकुम, पुर्वी रुकुम र सल्यान)को इन्चार्जमा केस बहादुर बुढा, सेती ब्युरो (अछाम ,डोटी, बाजुरा, कैलाली र बझाङ)को इन्चार्जमा शंकर बहादुर खडका (सिकन्दर), कर्णाली ब्युरो (डोल्पा, हुम्ला, जुम्ला, कालिकोट र मुगु)को इन्चार्जमा खम्बा बुढा (एटम बीसी) रहेका छन् । त्यस्तै, भेरी ब्युरो (बाँके ,बर्दिया, दैलेख, जाजरकोट सुर्खेत)को इन्चार्जमा बल बहादुर अलि र महाकाली ब्युरो (दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर) इन्चार्जमा राम प्रसाद तिमल्सिना रहेका छन् । अन्तर्राष्ट्रिय ब्यूरोको इन्चार्जमा भने धर्मेन्द्र बास्तोला (कंचन) रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १८:४८