बाँके । दश महिनाअघि सडक र नाला निर्माण गर्ने निहुँमा हटाइएको बसन्त मल्ल चौकको साइनबोर्ड वेवारिसे छ । कालिका निर्माण कम्पनीको उदासीनताका कारण उक्त बोर्ड अहिलेसम्म अलपत्र परेको हो ।
उपमहानगरमा आरयुडिपी आयोजना अन्तरगत सडक र नाला निर्माणका क्रममा ठेकेदारले उपमहानगरपालिकासँग समन्वय नै नगरेर काम गरेको छ । ठेकेदारले विभिन्न स्थानमा आफूखुसी सडक नाला खन्ने काम गरिरहेको स्थानीय बासी बताउँछन् ।
ठेकेदाले १० महिनाअघि बधबा वडा नम्बर २१ स्थित वसन्त मल्ल चोकको बोर्ड फ्याँकेको थियो । साविक पुरैना गाविस वडा नम्बर २, निवासी स्वर्गीय वसन्त मल्लको २०६६ भाद्र २२ गते भूमिगत समूहले हत्या गरेपछि उनको सम्मान स्वरूप गाविसको निर्णय अनुसार उक्त स्थानलाई चोकमा नामाकरण गरि बोर्ड राखिएको थियो ।
स्थानीयका अनुसार सडकको नाला खन्ने निहुँमा स्थानीय बासिन्दालाई सोधपुछ नगरी जबरजस्ती स्काभेटर लगाएर चोकको बोड फ्याँकेको थियो । स्वर्गीय मल्लका आमा धनसरा मल्लका अनुसार ठेकेदारद्वारा गरिएको यस्तो कार्यले छोरामाथि अपमान भएको छ ।
उनले भनिन्, ‘सडक तथा नाला निर्माणका क्रममा आफूखुसी नाला खनेर बोर्ड हटाउनु गैरजिम्मेवारी तथा स्वर्गीय वसन्त मल्लप्रति अपमान हो, बोर्डले कसको के विगारेको थियो त्यसरी उखेलेर फ्याँक्ने ?’ ठेकेदार कालिका कन्स्ट्रक्सनले स्काभेटर लगाएर निकाले उक्त बोर्ड भाँचिएको छ । ठेकेदारको यस किसिमको कार्यप्रति स्थानीयबासी रूष्ट छन् ।
यसअघि उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले वडा नं.२१, स्थित वसन्त मल्ल चोकको बोर्ड ठेकेदारले उखेलेर फालेको विषयमा जाँचबुझ गर्ने बताएकी थिइन् । तर, अहिले १० महिना बितिसक्दा कसैले केही जाँचबुझ गरेको देखिँदैन । ठेकेदार कालिका कन्स्ट्रक्सनले वसन्त मल्ल चोकको बोर्ड उखेल्ने विषयमा आधिकारिक अनुमति नलिएको वडासचिव चित्रा कुमारी पुनले बताइन् ।
वडासचिव पुनका अनुसार बोर्ड उखेल्नुपूर्व वडासँग समन्वय गर्नुपर्ने थियो त्यसो गरिएन । बोर्ड उखेलेर फ्याँकेपछि ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साइड इन्चार्ज सुरेश पाण्डेले बोर्ड उखेल्ने विषयमा उपमहानगरपालिकासँग अनुमति नलिएको स्वीकारेका थिए । उनीसँग बोर्ड पुर्नस्थापना कहिले गर्ने भन्ने विषयमा पटक पटक सम्पर्क गरी बुझ्दा आलटाल गर्ने गरेका छन् ।
सत्यपाटी - ।