सूचनाको शक्ति - The Power Of Information

        

शौचालय : कतै अभाव, कतै ‘गोदाम’

बाँके । बाँके खुला दिशामुक्त घोषणा भइसकेको छ । तर, यहाँका धेरै घरपरिवार अहिले पनि शौचालयको पहुँचमा छैनन् । हचुवा र हतारमा बाँकेलाई खुला दिशामुक्त गरिएकै कारण अहिले अधिकांश स्थानीय तहमात्रै होइन, सदरमुकाम नेपालगन्ज र शहरोन्मुख कोहलपुरमा समेत आवश्यकता अनुसारका शौचालयको अभाव छ ।

कतिपय घरधुरी शौचालयविहीन छन् । बनाएका कतिपय घरधुरीका शौचालय शौचका लागि प्रयोगमा आउन सकेका छैनन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ८ का अधिकांश घर अहिले पनि शौचालयको पहुँचमा छैनन् । यो त उदाहरण मात्र हो उपमहानगरपालिका क्षेत्रमै यस्तो अवस्था विभिन्न वडामा रहेको छ ।

घरमा शौचालय बनाएका बाँकेका अधिकांश नागरिक शौचालय प्रयोगका बारेमा अनभिज्ञ छन् । कतिपय शौचालयमा पराल, दाउरा र विभिन्न घरायसी सामान राखेका छन् । कतिपय घरधुरीमा त शौचालय हेर्दा ‘गोदाम’ जस्तै छन् । कतिपय शौचालय जीर्ण छन् । मर्मत सम्भार गरेर प्रयोगमा ल्याउनुपर्छ भन्ने चेतनाको पनि अभाव छ ।

कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा घरधुरीमा निर्माण भएका कतिपय शौचालय प्रयोगमा छैनन् । कतिले बनाएकै छैनन् । यस क्षेत्रका कतिपय नागरिकले घरमा भएका शौचालयमा गाईभैंसीलाई आवश्यक पर्ने पराल, दाउरा लगायतका सामग्री राख्ने गरेको पार्वतपुरकी बेलकुमारी उपाध्यायले बताइन् ।

अनविज्ञताको कमीले बाँकेका ग्रामीण क्षेत्रका नागरिक शौच गर्न बाहिरै खुला चौर तथा खेतमा जाने तर, घरमा भएका शौचालयमा घरायसी प्रयोजनका सामान राख्ने गर्दै आएको कारँकादोकी स्मृति डिसीले बताइन् । यो समस्या नेपालगन्ज उपमहानगरपालिकाका भित्रि बस्तीका साथै कोहलपुर क्षेत्रका विभिन्न गाउँमा रहेको छ ।

कतिपय नागरिकले जसोतसो शौचालय बनाएपनि आर्थिक अभावले ती शौचालयमा ढोका र छानो समेत हाल्न नसकेको शम्सेरगन्जकी भागमती बर्मा बताउँछिन् । ढोका र छानो नहुँदा बाँकेमा धेरै घरधुरीमा बनेका शौचालय प्रयोगविहीन भइरहेका छन् । ढोकै नभएको शौचालय प्रयोग गर्नु असुरक्षित महसुस हुने गरेको महिलाहरू बताउँछन् ।

कतिपयको शौचालय प्रयोग नहुँदै जीर्ण भईसकेका छन् । आर्थिक अभावले जीर्ण शौचालयको मर्मत गर्न नसकिएको पुजा बर्माले बताइन् । शम्सेरगन्जका पाका र वृद्ध जागेश्वरलाल यादवले अधिकांशले शौचालय बनाए पनि प्रयोग र मर्मतको समस्या रहेको बताए । उनले भने, ‘शौचालय मर्मत गर्न पैसा छैन । जस्तो छ त्यस्तै चलाइरहेका छौं ।’

बाँकेलाई खुला दिशामुक्त घोषणा गर्ने होडबाजीमा सरकारी तथा गैरसरकारी संस्थाले शौचालय बनाए । बाँकेलाई खुला दिशामुक्त गरियो । तर, यसरी बनाईएका शौचालय प्रयोगमा छन् कि छैनन्, यसको सदुपयोग भयो भएन अहिलेसम्म कसैले पनि अनुगमन गर्न र बुझ्न नसकेको स्थानीय बताउँछन् ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले नागरिकमा शौचालय प्रयोग गर्नुपर्छ भन्ने सचेतना दिन जरुरी रहेको बताए । उनले स्थानीय तह र सरसफाईसँग सम्बन्धीत सरकारी तथा गैरसरकारी निकायले ध्यान दिनुपर्ने बताए । सरोकारवाला सरकारी तथा गैरसरकारी निकायले अहिलेसम्म शौचालयको अनुगमन गर्न चासो देखाएका छैनन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार ०८:१४